मतदान केन्द्रका कर्मचारीद्वारा दल विशेषको पक्षमा मत मागेपछि नियन्त्रणमा


भरतपुर ।

चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुई जना मतदान कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले मतदानस्थलमै दल विशेषको पक्षमा मत मागेको गुनासो आएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ को माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका एक कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेको आरोप लागेको थियो। सो विषयमा जानकारी प्राप्त भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, अर्का एक कर्मचारीलाई पनि आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको स्रोतले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।

जिल्लामा अन्य मतदान केन्द्रमा भने मतदान शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जनाएको छ। सुरक्षाकर्मी परिचालन बढाइएको र आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।