रिसको बिउ नै राग र तृष्णा हो । राग भएको मानिसले इच्छा गरेको कुरा पूरा नभएमा उसलाई झनक्क रिस उठिहाल्छ । फेरि अर्को बिउ हो हाम्रा इन्द्रियहरु– कान, नाक, आँखा, जिब्रो र शरीरको छाला । यिनीहरु सबैले आ–आफ्नो काम नियमित गरिराख्नु प्राकृतिक नियम हो– चारैतिर हेर्नु, आवाज सुन्नु, कुनै कुरा सुँघ्नु, खानाको स्वाद लिनु । अनि त्यसैमा लोभ लागेर आएपछि रिसको जन्म हुने हो । भनाइ पनि छ– ‘लोभले लाभ, लाभले विलाप ।’ आँखाले देखेपछि मनले देखेको उक्त चिजलाई आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने राग तथा तृष्णा जागिरहन्छ । जिब्रोले पनि स्वाद लिने, जसको परिणाम अर्कै छ । जिब्रोले आफ्नो काम थपी–थपी खान पाए हुन्थ्यो भन्ने हुन्छ । आँखाले देखेका चिजहरु आफ्नो बनाउन कसले इच्छा राख्दैन र ? आहा ! कस्तो राम्रो भन्ने र इच्छा जाग्ने हुन्छ । मुखले पनि त जिब्रोले लिइराखेको स्वादलाई दोहो¥याउन–तेह¥याउन चाहनु र त्यसैमा भुलिरहनु राम्रो होइन र ? त्यसैलाई त्याग्न नसके पैसाको बर्बादी मात्र होइन, त्यहाँ त झगडासम्म हुन बेर छैन । परिणाम यहाँ रिसले ठाउँ जमाउन सक्ने हुन्छ पनि, अनि त के चाहियो र ?
हामीले मुखबाट भन्न नहुने कुराहरु अनेकौं छन् । त्यसमा फेरि काम लाग्ने÷नलाग्ने धेरै भैरहन्छन् पनि, उक्त कुरा आफूलाई भैदिए हुन्थ्यो भन्ने लाग्छ । यदि पाउन सके त भैहाल्यो, प्राप्त गर्न नसकेमा त्यहाँ रिसले ठाउँ जमाइहाल्छ । मनलाई ठाउँमा राख्न मुस्किल हुन्छ । फेरि हुन नसके मनबाट बाहिर हुत्याइदिनु नै बुद्धिमानी नत्र परिणाम नराम्रो हुन्छ । फेरि अर्को भन्न नहुने कुरालाई पनि मनमा राख्न नदिनु नै राम्रो हो । नचाहिँदो कुरालाई मनबाट बाहिर नल्याउनु नै जाती हुन्छ, जसले गर्दा इच्छालाई जागृत गर्नु नै नपर्ने हुन्छ । पछि गएर रिसलाई मनबाट त्याग्न सके रिस बस्ने ठाउँ नै हुँदैन । अनि त के चाहियो र मनमा जहिले पनि शान्ति छाइरहन्छ ।
मानिसमा रिस कसरी आउँछ र जान्छ भन्ने बारे एकपटक वैज्ञानिकहरुले अनुसन्धान गरे कि आफूले इच्छाएको कुरा प्राप्त गर्न नसके रिस जाग्छ । रिसको आँखा हुँदैन भन्छन् । रिस उठेको बेला कोहीको मतलब हुँदैन र जथाभावी रिसले नाच देखाइछोड्छ । त्यसकारण क्रोध आउने बखत धेरै नै होस राख्नु जरुरी हुन्छ । रिसले गर्दा सम्झिने शक्ति नै गुमाइदिन्छ । रिस उठ्नेलाई धेरै नै प्रेसर बढ्छ पनि । जसले गर्दा मुटुको रोग हुन बेर लाग्दैन । रिसले झगडा उब्जाउँछ र सबैसँग वैरभाव पैदा हुन जाने हुँदा पछि आफूलाई पनि मैले बेकारमा के भनेछु अनि के गरेछु भनी प्रायश्चित्त जगाउँछ ।
भनाइ पनि त छ– मानिसमा एकपटक रिस उठेपछि हजार वाट चिमको प्रकाश जत्तिकै हुन्छ । हजार वाट चिमको तेजले मानिसलाई पार्ने आँखा तिरमिराएजस्तै रिसले जीउ पनि सन्चो नहुने हुन्छ, बिरामी पनि हुन सक्ने सम्भावना हुन्छ । फेरि रिस उठेको बखत मानिसले कसैलाई कतै शरीरको कुनै भागमा टोकिदिएमा विष लाग्ने हुन्छ । कुकुरले टोक्दाको विषभन्दा पनि कम नहुने हुन्छ । झगडा हुँदा टोक्ने बानीले फेरि हात नै उठाई ठूलै घटना हुने सम्भावना पनि बढ्नेछ । त्यस बखत यस्तो रिस कहाँबाट कसरी आयो भन्ने सोच आएमा रिसलाई लगाम कस्ने कुरा हुन्छ । रिसको बाढीलाई छेक्न कठिन हुन्छ । यसलाई कब्जा गर्न सकेन भने प्रायश्चित्तले पनि तह लगाउन सकिन्न क्यारे !
उर्लिएर आएको रिस कति रहेछ भनी ज्वरो नाप्ने थर्मामिटरजस्तै एउटा मेसिनको आविष्कार पनि वैज्ञानिकले गरे । उक्त मेसिनबाट परीक्षण पनि गरी हेरे । मानिसमा रिस नभएको कोही पनि नहुने भन्ने पत्ता लगाइयो । हुन पनि हो कि कुनै पनि प्राणीमा रिस जन्मेदेखि आएको हुन्छ । पशुहरुमा त भन्नै परेन । फरक यत्ति छ कि मानिसमा विचार गर्ने शक्ति हुन्छ, पशुहरुमा हुँदैन ।
उर्लिएर आएको रिस कति रहेछ भनी ज्वरो नाप्ने थर्मामिटरजस्तै एउटा मेसिनको आविष्कार पनि वैज्ञानिकले गरे । उक्त मेसिनबाट परीक्षण पनि गरी हेरे । मानिसमा रिस नभएको कोही पनि नहुने भन्ने पत्ता लगाइयो । हुन पनि हो कि कुनै पनि प्राणीमा रिस जन्मेदेखि आएको हुन्छ । पशुहरुमा त भन्नै परेन । फरक यत्ति छ कि मानिसमा विचार गर्ने शक्ति हुन्छ, पशुहरुमा हुँदैन ।
एकपटक अमेरिकाका एक साइको रिचार्ड डेभिड नामका वैज्ञानिक नेपाल आए । उनले एउटा भिक्षु योगी मिङमार रिम्पोछे (जो गोरखाको हुनुहुन्छ) उहाँसँग कुराकानी गरी रिसको मात्राको परीक्षण गरी मेसिनबाट हेरेछन् । ती भिक्षुमा रिसको मात्रा कति पनि नभएको थाहा पाई वैज्ञानिक आश्चर्यमा परे । कारण के होला भनी खोज्दा ध्यान रहेछ । ध्यानगुृरु सत्यनारायण गोयन्काको भाषामा आनापाम भनिन्छ । ध्यानमा बस्ने मानिसले आफ्नो शरीरको पूरा भाग निरीक्षण गर्दछ । त्यस्तै गरी शिर, कपाल, आँखा, दुवै कान, गर्दन, दुई हात र छाती, पेट अनि पछि तिघ्रा तथा खुट्टाको पाइताला, औँला गरी संवेदनशील अंगलाई समेत तल–माथि ओहोर–दोहोर निरीक्षण वा हेर्ने काम हुन्छ ।
सधैंँ ध्यानमा बस्नेले रिस नउठ्ने कुरालाई उक्त वैज्ञानिकले स्वीकार गरे पनि । ध्यान गर्नाले हाम्रो मनलाई एकचित्तले आफ्नै शरीरको मात्र निरीक्षण भैरहने हुन्छ । मनलाई खाली राखेमा इच्छा गर्ने कुनै तत्व पनि नहुने रहेछ । पछि त रिस गर्ने बाटो बन्द भई मुक्त भएको अनुभव हुन्छ ।
म स्वयं पनि बूढानीलकण्ठको डाँडामा अवस्थित सत्यनारायण गोयन्काको ध्यान केन्द्रमा ५÷६ पटक बसी सकेकाले रिसलाई चिनीकन जरादेखि नै उखेलिसकेको छु र कसैले रिसले गाली गरे पनि वास्ता नगर्ने बानी भइसक्यो । रिस जागृत हुँदा किन, कसरी, कहाँबाट आएको भन्ने मूल जरा थाहा पाईकन त्यसको बाटो बन्द गर्ने ममा बानी भैसकेको छ । सामाजिक प्राणीको नाताले केही कुरा मनमा रहिरहने वा कसैबाट मन नपरेको कुराले जरा गाड्न खोज्छ । कसैको कुरामा वास्ता नै राखेन भने त रिस जाग्ने ठाउँ नै नरहने भयो । उदाहरणको लागि दूध उम्लिने भो भनी पहिले नै थाहा पाउनेले दूध बाहिर पोख्दैन, यसमा सचेत हुनु जरुरी छ, बुद्धिमानी पनि हो, नत्र परिणाम अनर्थ हुन्छ नै ।
यसरी मनमा सोचिरहँदा रिस एक प्रकारको आगो हो । आगो घर वा कतै जङ्गलमा लागेपछि तुरुन्त ननिभाए आगोको ज्वालाको गति बढ्दै गएर सबै कुरा नाश हुन्छ । पछुताउने बाटो हँुदैन । त्यस्तै अर्को कुरा रिस हाम्रो लागि राक्षस, दानव मान्नुपर्छ । जसलाई बुद्धको भाषामा क्षान्ती भनिन्छ । त्यसैले रिस हाम्रो मनबाट निस्कने ज्वलनशील शक्ति हो र यसलाई सम्हाल्न मनलाई ड्राइभरको रुपमा लिनुपर्ने हुन्छ । चालकले गाडीलाई जसरी नियन्त्रणमा राख्छ, त्यस्तै हामीले रिस नियन्त्रण वा चिन्नु जरुरी छ ।
रिस कसलाई आउँदैन ? मानिसबाहेक पशुपक्षी, कीटपतंग, आकाशमा उड्ने चरा, पानीमा रहने गोही, माछा आदि र जमिनमा रहने सबैमा नै आउँछ । उनीहरु त पशुजन प्राणी भए । हामी मानिस हौँ, सबै कारण बुझ्न सक्ने शक्ति छ । अब हामीले बुझ्नु जरुरी छ कि रिसलाई बगिरहने नदीलाई सम्झौं । वेगले बग्दै आउने नदीलाई बुझाँैं । नदी बग्ने हो र पानी परेको बखत वेगलाई सम्हाल्न वा रोक्न सकेन भने बगाएर लान्छ । त्यसरी नै रिस आउने बखत आफ्नो मनले कहाँबाट कसरी आयो भन्ने बुझ्न सकेमा त्यसै रोक्न सकिन्छ । अब म रिसलाई कसरी दिमाग (मन) बाट पखाल्ने वा मनमा नराख्नेबारे सानोतिनो कुरा प्रस्ट्याउनेछु । रिस गर्नेलाई रिसबाटै जवाफ दिन थाल्यो भने प्रचण्ड आगो बल्छ । बल्कि त्यसलाई नियन्त्रण गर्न वास्ता नगर्नु नै बुद्धिमानी हुन्छ ।
एकपटक एक भिक्षु भिक्षाटनका क्रममा (बुद्धको पालाको सत्य घटना) एक ब्राह्मणको घरमा भिक्षा माग्न जानुभयो । ती ब्राह्मण भने घरमा माग्न आउने कसैलाई देखी नसहने बानी परेका रहेछन् । त्यस बखत भिक्षु बनेर आउने बुद्ध हुन् भन्ने जानकारी नभएकोले पनि ब्राह्मण रिसले चुर भए । उनले आफ्नो मुखमा थुक नभए पनि जबरजस्ती थुकेर भए÷नभएको अश्लील शब्दबाट बुद्धलाई गाली गर्न थाले । रिसाहा ब्राह्मणले बुद्धको मुख हेरी भन्न थाले– ‘तँ त घर–घर मागी मात्र खाने मगन्ते, काम केही नगरी डुली–डुली खाने कामचोर ठग होस् । फेरि सीधासाधा गाउँले र आँगनबाट बाहिर पनि ननिस्किई काममा अल्झिरहने महिलाहरुलाई बोलाउन लगाई आफ्नो वशमा पार्ने, नभएका कुराको कथा बनाई ठगी हिँड्ने अनि कथा सुन्नेलाई समेत मुग्ध हुने कुराले लठ्याएर फुरुङ्ग पारी उनीहरुबाट अन्न–पैसा असुल्ने ठग, नकचरो, लाज नभएको मान्छे ! तँ आज मेरो घरमा के कुरा माग्न आइस् रे ?’
यसरी घृणाको पाराले गाली गरी ती ब्राह्मणले फेरि बुद्धको शरीरमा पर्ने गरी थुक्न थाले । बुद्धलाई गाली गर्दा–गर्दा ती ब्राह्मण थकित पनि भए । बुद्ध भने रिसाहा ब्राह्मणको चर्तिकला हेरी मात्र रहनुभयो । केही नबोली बस्नुभयो । जवाफमा जवाफ केही छैन । रिस मात्र बोकी बस्ने ब्राह्मण छक्क परे । अनि सोध्न थाले– ‘ए भिक्षु, मैले त्यतिको समयसम्म गाली गरेँ । ए ठग ! तँलाई कति पनि रिस उठेन ? अरुले भए के–के गरिसक्थे । तँ भने मलाई मात्र हेरी चुप लागिरहिस्, किन ?
बुद्धले रिसाहा ब्राह्मणको मुख हेरेर भन्नुभयो– ‘मलाई अब गाली गर्नै बाँकी छैन होला । अरु पनि कुरा भए भन, म सुन्न मात्र आएको सुनाऊ ।’ भिक्षुको कुरा सुनेर ब्राह्मण बुद्धलाई हेरेको हे¥यै भए । ब्राह्मण चुप लागेर बसिरहेको देखी बुद्धले सम्झाउँदै भन्न थाल्नुभयो– ‘तिम्रो घरमा भोजभतेर भएका बखत नातागोताले केही उपहार दिँदा तिमीले लिन मानेनौ भने फिर्ता लग्छन् । त्यो त तिमीलाई थाहा होला । उसै गरी तिमीले पनि धेरै समय लगाएर मलाई उपहारहरु दिन खोज्यौ, मैले हातमा थापेर लिइन । तिम्रो उपहार तिमीले नै राख्नू ।’ यति भनेर भीक्षुरुपी बुद्ध ब्राह्मणको मुख हेरी चुप लागिरहनुभयो । ब्राह्मण बुद्धलाई हेरी टोलाएर बसे ।
यसको अर्थ के हुन गयो भने, रिसले कहिल्यै फर्केर हेर्ने गर्दैन, नदीको वेगजस्तै बगिरहन्छ । रिसले भरिएको मानिसमा कतै नहेरी बोलेको बोल्यै गाली गरिरहने बानी हुन्छ । रिस जाग्दा नोक्सान र फाइदा केहीको चेष्टा हुँदैन । रिसाहा मान्छेले गाली गरेको कुृरालाई ध्यान नदिई, कुरा पनि नसुनी, केही नदेखेको झैँ गरी बस्नाले रिसले जग हाल्न पाउँदैन । तत्पश्चात् मनमा रिसले ठाउँ लिँदैन । रिसले भरिएको मानिससंँग छुट्टिएर बस्नु नै बुद्धिमानी हुन जान्छ । फेरि रिसको बदला रिस देखाउन थाल्यो भने परिणाम नराम्रो हुने स्वतसिद्ध छ । त्यसबखत अझ चिसो पानी एक गिलास पिइदिएमा रिस अन्त्य हुन्छ ।











प्रतिक्रिया