चुनावको अर्थ र नागरिक चेतनाको शक्ति

188
Shares

चुनाव अर्थात् निर्वाचन लोकतन्त्रको प्रमुख आधारस्तम्भ हो भने नागरिक चेतना त्यसको प्राणशक्ति हो । यी दुवैको सम्बन्ध अविछिन्न र अन्योन्याश्रित रहेको हुन्छ । चुनावविना लोकतन्त्रको कल्पना पनि गर्न सकिँदैन । सचेत नागरिकविना चुनाव औपचारिकतामा मात्र सीमित रहन्छ । त्यसैले कुनै पनि मूलुकका लागि लोकतान्त्रिक परिपक्वता त्यहाँको चुनावी प्रक्रियाभन्दा पनि नागरिकको चेतना स्तरबाट मापन गर्ने गरिन्छ । नागरिकले आफ्नो अधिकार, कर्तव्य, जिम्मेवारी र राज्यप्रतिको भूमिकाबारे राख्ने सच्चा बुझाइ नै नागरिक चेतना हो । सचेत नागरिकले मताधिकारलाई अधिकार मात्र होइन, राष्ट्रप्रतिको दायित्वका रुपमा लिन्छन् ।यसले चुनावको समयमा उम्मेदवारको व्यक्तित्व, नीति, दृष्टिकोण, इमानदारी र विगतका कामको मूल्याङ्कन गर्छ । यस्तो चेतनाले चुनावलाई भीडको निर्णयबाट उठाएर विवेकपूर्ण छनोटको प्रक्रियामा रुपान्तरण गर्छ । नेपालको राजनीतिक इतिहास नागरिक चेतनासँगै अघि बढेको छ । निरंकुशता, दमन र अधिकार हननविरुद्ध उठेका आन्दोलनहरु नागरिक चेतनाको परिणाम थिए । ती आन्दोलनहरुले नै मतदानको अधिकार सुनिश्चित गरे । तर अधिकार प्राप्त गरेपछि त्यसको सही सदुप्रयोग गर्नु नागरिक चेतनाको अर्को चरण हो । केवल मत हाल्नु मात्र पर्याप्त हुँदैन, सही व्यक्तिलाई मत हाल्नु नै लोकतन्त्रको सफलता हो ।
नागरिक चेतना कमजोर हुँदा चुनावताका अनेकौँ विकृति देखिन्छन् । लोभ, डर, जातीयता, क्षेत्रीयता, पैसाको प्रभाव र गलत सूचनाले मतदातालाई भ्रमित बनाउँछ । यस्तो अवस्थामा चुनाव जनताको आवाज होइन, सीमित स्वार्थको माध्यम बन्न जान्छ । यसले योग्य नेतृत्व जन्माउन नसक्ने मात्र होइन, दीर्घकालमा लोकतन्त्रमाथि नै प्रश्नचिह्न खडा गर्न सक्छ । चुनाव लोकतन्त्रको मेरुदण्ड हो तर यही चुनावमा नागरिक चेतना कमजोर हुँदा विकृत, दिशाहीन र अर्थहीन बन्न जान्छ । सचेत नागरिक लोकतन्त्रको रक्षाकवच हुन् भने नागरिक चेतना कमजोर भएका नागरिक लोकतन्त्रकै लागि चुनौती बन्छन् ।

नागरिक चेतना कमजोर हुँदा गलत तथा भ्रामक सूचना र अफवाह चुनावको शक्तिशाली हतियार बन्छ । सामाजिक सञ्जाल, भाषण र प्रचारप्रसारको माध्यमबाट असत्य र भ्रामक सूचनाले मतदाताको निर्णयलाई भ्रमित बनाउँछ । सत्यतथ्य जाँच गर्ने संस्कार कमजोर हुँदा भावना र उत्तेजनाले विवेकलाई जित्छ र चुनाव विवेकपूर्ण छनोट होइन, भावनात्मक प्रक्रियामा सीमित हुन्छ । अर्को गम्भीर विकृति चुनावपछि देखिने निराशा र उदासीनता रहेको छ । चेतनाको कमीले नागरिकलाई अन्तिममा जिम्मेवारी ठान्न बाध्य बनाउँछ र चुनाव सकिएपछि प्रतिनिधिको कामप्रति निगरानी नगर्ने, प्रश्न नगर्ने र उत्तरदायित्व नखोज्ने परिपाटीले भ्रष्टाचार, अकर्मण्यता र सत्ताको दुरुपयोगलाई प्रोत्साहन गर्छ ।

नागरिक चेतना दुर्बल अवस्थामा रहँदा चुनावमा देखिने पहिलो र गम्भीर विकृति मतको खरिद–बिक्री हो । मतलाई विचार र विवेकको आधारमा होइन, पैसाको लेनदेनमा साटिने वस्तुको रुपमा हेरिन्छ । यसले योग्य, इमानदार र दूरदर्शी उम्मेदवारलाई पछि पार्ने सम्भावना प्रबल हुन्छ । नागरिक चेतनाको अभावमा जातीयता, क्षेत्रीयता र संकीर्ण पहिचानको विकृति हुन्छ । सचेत नागरिक नहुँदा उम्मेदवारको नीति, कार्यक्रम र क्षमताभन्दा पनि जात, भाषा, क्षेत्र वा भावनात्मक नाराले मतदातालाई प्रभावित पार्छ । जसले समाजलाई विभाजन गर्छ र एक–आपसमा द्वन्द्वलाई निम्त्याउने काम गर्छ । राष्ट्रिय एकतालाई पनि कमजोर बनाउँछ । र, निर्वाचनलाई विकासको पहलबाट टाढा लैजान्छ । कमजोर नागरिक चेतनाका कारण मतदाता धम्की, प्रशासनिक दबाब वा शक्तिशाली समूहको प्रभावमा पर्न सक्छन् । कतिपय अवस्थामा राज्यसंयन्त्र वा बाह्य शक्तिको दुरुपयोग गरी चुनावको परिणामलाई प्रभावित पार्ने प्रयत्न पनि हुने गर्छन् ।

सचेत नागरिकले चुनावलाई निरन्तर प्रक्रियाका रुपमा बुझ्छन् । चुनाव सकिएपछि पनि उनीहरुले निर्वाचित प्रतिनिधिको कामको निगरानी गर्छन् । गलत कार्यको विरोध गर्छन् र सही कामको समर्थन गर्छन् । यसरी नागरिक चेतनाले शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउँछ । आजको डिजिटल युगमा नागरिक चेतनाको भूमिका अझै महत्वपूर्ण बनेको छ । सामाजिक सञ्जाल र सूचनाको तीव्र प्रवाहले सचेत नागरिक र भ्रमित नागरिकबीचको अन्तर स्पष्ट पारिदिएको छ । अपुष्ट सामाचार, भ्रामक प्रचार र भावनात्मक उक्साहटबाट बच्न आलोचनात्मक सोच आवश्यक छ । सचेत नागरिकले सूचना जाँच गर्छ, तर्क प्रयोग गर्छ र विवेकपूर्ण निर्णय लिन्छ । गलत सूचना र अफवाहको प्रतिशोध गर्छ । सचेत नागरिकले सत्यतथ्य जाँच गर्छ, प्रमाण खोज्छ र असत्य सूचनाबाट आफू मात्र होइन, अरुलाई पनि जोगाउँछ । यसरी नागरिक स्वयं सूचना शुद्धीकरणको माध्यम बन्छ ।

सचेत नागरिक लोकतन्त्रको मेरुदण्ड हुन् । जब नागरिकले आष्फ्नो भूमिकालाई गम्भीरतापूर्वक बुझ्छन् तब चुनाव केवल प्रक्रियागत घटना होइन, राष्ट्रनिर्माणको साझा अभियान बन्छ । सचेत नागरिकको सहभागिताले मात्र निर्वाचनलाई स्वच्छ, सक्षम र जनमुखी लोकतन्त्रको आधार बनाउन सकिन्छ । चुनाव र नागरिक चेतना एक–अर्काका पूरक हुन् । निष्पक्ष र स्वतन्त्र चुनावले नागरिक चेतनालाई बलियो बनाउँछ भने सचेत नागरिकले चुनावलाई अर्थपूर्ण बनाउँछ । जब नागरिकले आफ्नो मतको शक्ति बुझेका हुन्छन् तब लोकतन्त्र केवल संविधानको शब्दमा होइन, जनजीवनको व्यवहारमा जीवित रहन्छ । त्यसैले समृद्ध लोकतन्त्रका लागि निष्पक्ष चुनावसँगै उच्च नागरिक चेतना पनि अपरिहार्य रहेको हुन्छ ।

लोकतन्त्रको साँचो सौन्दर्य केवल चुनाव सम्पन्न हुनुमा होइन, त्यसलाई जीवन्त बनाउने नागरिक चेतनामा निहित रहेको हुन्छ । चुनाव एउटा प्रक्रिया हो तर चेतना त्यसको आत्मा हो । मत केवल कागजमा अङ्कित चिह्न होइन, यो त राष्ट्रको भविष्यप्रति गरिएको प्रतिज्ञा हो । जब नागरिकले आफ्नो मतको मूल्य, आफ्नो जिम्मेवारीको गहिराइ र आफ्नो निर्णयको दीर्घकालीन प्रभावलाई बुझ्छन्, तब मात्र लोकतन्त्र सबल, सक्षम र उत्तरदायी बन्छ । नागरिक चेतना कमजोर हुँदा लोकतन्त्र रूपमै मात्र बाँच्छ । तर सचेत नागरिक हुँदा लोकतन्त्र व्यवहारमै फल्छ, फुल्छ र फस्टाउँछ । त्यसैले लोकतन्त्रको रक्षा कानुनले मात्र गर्दैन, जागरुक नागरिकको विवेकले गर्छ । समुन्नत राष्ट्रको आधार बलियो चुनावी प्रणाली मात्र होइन, विवेकशील, जिम्मेवार र सत्यप्रति प्रतिबद्ध नागरिक समाज हो । तसर्थ, निष्पक्ष चुनाव र उच्च नागरिक चेतनाको समन्वय नै समृद्ध, स्थिर र जनमुखी लोकतन्त्रको सुनिश्चित मार्ग हो । जब हरेक नागरिकले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक ग्रहण गर्छ, तब लोकतन्त्र केवल शासन प्रणाली होइन, साझा सपनाको साकार रुप बन्दछ ।