आज देश देशभर प्रतिनिधिसभाको मतदान भइरहेको छ । ३ वर्षअघि सम्पन्न निर्वाचनले जनतामा आशा, उत्साह र परिवर्तनको अपेक्षा जगाएको थियो । त्यस बेला पनि स्थायित्व, सुशासन र समृद्धिका नारासहित मतदातालाई सचेत, जिम्मेवार र विवेकपूर्ण निर्णय गर्न आह्वान गरिएको थियो । अहिले पनि यो आह्वान जारी छ । किनकि निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, यो लोकतन्त्रको आत्मा हो । मतपेटिकामा खस्ने प्रत्येक मतले पाँच वर्षको दिशानिर्देश तय गर्छ । अघिल्लो निर्वाचनपछि जनताले स्थायित्वको अपेक्षा गरेका थिए । राजनीतिक अस्थिरता अन्त्य होस्, विकासका कामले गति लिऊन्, रोजगारीका अवसर बढून्, शिक्षा–स्वास्थ्य सर्वसुलभ होस् भन्ने चाहना प्रबल थियो । तर सत्ता समीकरणका खेल, दलभित्रका विवाद, गठबन्धनका फेरबदल र नीति–कार्यक्रमको निरन्तरतामा देखिएको कमजोरीले जनतामा केही निराशा पलाउनु स्वाभाविक नै हो । तर आजको निर्वाचनले यी निराशाहरुलाई चिर्न सक्नुपर्छ ।
आजको निर्वाचनमा जनताले जिम्मेवार नेतृत्वको चयन गरुन्, जसले नारा र भाषण मात्र होइन, जनताको चाहनाअनुसारको परिणाम दिन सकून् । त्यसैले आजको निर्वाचन केवल नयाँ अनुहार रोज्ने वा पुराना प्रतिनिधिलाई दोहो¥याउने प्रश्न मात्र होइन, यो विगत पाँच वर्षको समीक्षा गर्ने अवसर पनि हो । लोकतन्त्रमा जनप्रतिनिधिहरु केवल चुनावमा उपस्थित हुने पात्र होइनन्, आगामी पाँच वर्ष जनताप्रति उत्तरदायी रहने जनताका सेवक हुन् । त्यसैले आजको निर्वाचनमा जनता चनाखो हुनुपर्छ । उपयुक्त पात्रको छनोट गरे मात्र नेपालको भविष्य उज्ज्वल हुनेछ । निर्वाचन तब मात्र पूर्ण हुन्छ, जब नागरिक सचेत र स्वतन्त्र भएर मतदान गर्छन् । कुनै लोभ, प्रलोभन, जातीय–क्षेत्रीय उक्साहट वा असत्य प्रचारको प्रभावमा नपरी निर्णय लिनु आजको मुख्य आवश्यकता हो । सामाजिक सञ्जालको यस युगमा झुटा सूचना र अफवाहलाई ख्याल गरी मतदाताले विवेक प्रयोग गर्नुपर्छ ।
अहिलेको निर्वाचन जेनजी पुस्ताको विद्रोहको उपज हो । यहाँ प्रतिस्पर्धा आवश्यक छ तर द्वेष होइन । उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धा र समर्थकहरूबीच सहिष्णुता रहनु जरुरी छ । निर्वाचनको परिणाम जेसुकै आए पनि राष्ट्रिय हित सर्वोपरि हुनुपर्छ । विजयी पक्षले नम्रता र जिम्मेवारी प्रदर्शन गरुन् । पराजित पक्षले परिणाम स्वीकार गरी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरुन् । निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी मतदान प्रक्रिया लोकतन्त्रप्रतिको विश्वासको आधार हो । मतदान केन्द्रमा देखिने अनुशासन, सुरक्षा र सहजताले नागरिकलाई आफ्नो मतको मूल्यबोध गराउँछ । जनताको विश्वास जित्न नेता–कार्यकर्ताले पनि चुनावी प्रतिबद्धतालाई कागजमै सीमित नराखी व्यवहारमा उतार्नुपर्छ । व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ ठूलो हो भन्ने भावनाले मार्गदर्शन गर्नुपर्छ । जनताले जिम्मेवारीपूर्वक मत दिएर सक्षम नेतृत्व चयन गरून् । नेतृत्वले पनि जनविश्वासको सम्मान गर्दै सुशासन, पारदर्शिता र समृद्धिको बाटो समातुन् । आजको दिन शान्तिपूर्ण, निष्पक्ष र उत्साहपूर्ण बनोस् । नागरिकको सम्मानजनक मतले मुलुकको भविष्य उज्यालो बनोस् ।











प्रतिक्रिया