प्रदेश राजधानीमा सम्पूर्ण तयारी पूरा


हेटौंडा।

आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वागमती प्रदेशको राजधानी मकवानपुरमा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदानकेन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठकसमेत भइसकेको हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनीले बताउनुभयो । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थलसमेत तयार भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भुटनदेवी माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार कोठा तयार गरिएको छ ।

उहाँका अनुसार मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटीभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो । मतगणनास्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुनसक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उहाँले जानकारी दिनुभयो । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ ।

मतदानपश्चात मतपेटिका ढुवानीका लागि सवारीसाधनको समेत व्यवस्था भइसकेको छ । मकवानपुरका विकट गाउँबाट मतपेटिकाहरू ल्याइपु¥याउका लागि मतदान सकिएको चार घण्टासम्म पनि लाग्ने छ ।