काठमाडौं।
निर्वाचन आयोगले मतदान भएर मतपेटिका गणनास्थल पुगेको २४ घण्टाभित्रै परिणाम प्रकाशन गर्ने गरी तयारी पूरा भएको जनाएको छ । यसपटक काठमाडौंमा सम्बन्धित क्षेत्रमै मतगणना गरिने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जसअनुसार काठमाडौं – १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर, काठमाडौं–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालय कागेश्वरी मनोहरा नगरपालिका थली, काठमाडौं–३ को गोकर्णेश्वर नगरपालिका–४ चामुण्डा स्कुलमा मतगणना हुने भएको छ । यसै गरी काठमाडौं –४ को निर्वाचन अधिकृतको कार्यालय रहेको बूढानीलकण्ठ –२ स्थित जेष्ठ नागरिक समाज भवन चपली, काठमाडौं –५ को टोखा नगरपालिका– ६ स्थित सामुदायिक भवनमा मतगणना हुनेछ । त्यस्तै, काठमाडौं–६ को तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थली, काठमाडौं –७ को बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र खुसिबँु, काठमाडौं–८ को नागार्जुन नगरपालिका भवनसँगैको जनउद्धार माध्यमिक विद्यालय, काठमाडौं – ९ को चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बु र काठमाडौं–१० को कीर्तिपुर –२ स्थित सामुदायिक भवनमा मतगणना हुने भएको छ ।
त्यस्तै, ललितपुर –१ को गोदावरी नगरपालिका कार्यालय बज्रबाराही, ललितपुर– २ को खुमलटारस्थित कृषिको कार्यालय र ललितपुर– ३ को जावलाखेलमा मतगणनास्थल तोकिएको छ ।
यसै गरी भक्तपुर– १ मा जिल्ला अदालत भक्तपुर र भक्तपुर–२ मा बोडेस्थित तालिम केन्द्रमा मतगणना हुने भएको छ ।
सर्वपक्षीय सहमति भएमा बिहीबार बेलुकादेखि नै मतगणना हुने गरी तयारी थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणनास्थलमा सीसी क्यामेरा र तारजालीको समेत व्यवस्था भइसकेको जनाइएको छ ।











प्रतिक्रिया