२४ घण्टाभित्रै मतपरिणाम- निर्वाचन आयोगले मतदानपछि मतपेटिका सम्बन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेको २४ घण्टाभित्र मतपरिणाम निकाल्ने तयारी गरिएको जानकारी दिएको छ ।
काठमाडौं ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन, त्यस क्रममा भएको विध्वंसले सिर्जित समस्या र त्यसपछिको असहज अवस्थालाई चिर्दै देश आज प्रतिनिधिसभा निर्वाचनको ऐतिहासिक मोडमा उभिएको छ ।
आक्रोश, अन्योल, अनिश्चितताले घेरिएको पछिल्ला छ महिनाको कठिन यात्रापछि मुलुक प्रतिनिधिसभा निर्वाचनमार्फत संविधानलाई ‘ट्रयाक’मा ल्याउने गरी जनताको हातमा पुगेको हो । जेन–जी आन्दोलनपछि गत भदौ २७ गते गठित सुशीला कार्कीको नेतृत्वको सरकारले सोही दिन फागुन २१ गते निर्वाचन गराउने मिति तय गरेको थियो । सोही दिन नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाको विघटनको सिफारिस गर्दै कार्की नेतृत्वको सरकारलाई छ महिनाभित्र चुनाव गराउने कार्यादेश तोकिएको थियो ।
चुनाव हुने कि नहुने भन्ने द्विविधा, संवैधानिक बहस र राजनीतिक तानातानकाबीच अन्ततः देशले मताधिकारको प्रयोगमार्फत आफनो भविष्य तय गर्ने अवसर पाएको छ । संक्रमणकालका मोडका रूपमा लिइएको यो निर्वाचनमा विशेषतः युवापुस्तामा केही उत्साह देखिएको छ ।
यस निर्वाचनको प्रयोजनका लागिमात्र एक लाख चार सय ७५ जना नयाँ मतदाता थपिएका छन् । २०६४ फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले यस निर्वाचनमा भाग लिने छन् । निर्वाचन आयोगले नयाँ मतदाता र प्रभावकारी निर्वाचन शिक्षाले मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने विश्वास लिएको छ ।
निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि ५ बजेसम्ममा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त सो आग्रह गर्दे भन्नुभयो । गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन गइरहेको छ । आ–आफनो मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न आग्रह गर्दछु । यस निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास गरेका छौं ।’
प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला नै निर्वाचन भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता प्रदान गर्ने पनि उहाँको भनाइ रहेको छ । मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताउनुभयो । उहाँले मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिइने भन्दै सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने बताउनुभयो ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमा प्रत्यक्षतर्फ पुरुष उम्मेदवार ३ हजार १७, महिला ३ सय ८८ र अन्य एक जना सहभागी छन् । यस प्रणालीबाट १ सय ६५ जना निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिमा रातो रङमा निर्वाचन चिह्न रहेको मतपत्र हुनेछन् । त्यसै गरी समानुपातिकतर्फ पुरुष एक हजार ३ सय ६३, महिला एक हजार ७ सय ७२ उम्मेदवार सहभागी छन् । समानुपातिकतर्फको मतपत्र सेतो पृष्ठभूमिमा कालो रङ निर्वाचन चिह्न लेखिएको मतपत्र हुनेछ ।
निर्वाचनमा सबैभन्दा बढी खस आर्य समुदायका उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक खस आर्यबाट ३४.५० प्रतिशत सहभागी रहेका छन् । दोस्रोमा आदिवासी जनजातिबाट २७.३० प्रतिशत सहभागी छन् । तेस्रोमा मधेसी २४.८७ प्रतिश, चौथोमा दलित ६.७५ प्रतिशत, पाँचौंमा मुस्लिम ३.९९ प्रतिशत र छैटौंमा थारू २.५८ प्रतिशत सहभागी छन् । यस्तै, प्रत्यक्षतर्फ ६५ र समानुपातिकतर्फ ६३ राजनीतिक दलले भाग लिएका छन् । निर्वाचन आयोगमा १ सय ३६ दलले दर्ता गरेका थिए । प्रत्यक्षतर्फ कुल उम्मेदवारमा राजनीतिक दलका उम्मेदवार २ हजार २ सय ६३ र स्वतन्त्र उम्मेदवार १ हजार १ सय ४३ रहेका छन् । यसपटक स्वतन्त्र र युवा उम्मेदवारको संख्या विगतको तुलनामा निकै बढेको पाइएको छ ।
मतदाताको संख्या भने १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेका छन् जसमध्ये पुरुष ९६ लाख ६३ हजार ३ सय ५८, महिला ९२ लाख ४० हजार १ सय ३१ र अन्य २ सय जना रहेका छन् ।
आयोगका अनुसार यस निर्वाचनमा १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरिएको छ । त्यसमध्ये सुरक्षा चुनौतीको आधारमा ३ हजार ६ सय ८० मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षा चुनौतीका आधारमा मतदान केन्दलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको छ ।
आयोगले देशभरका ७७ वटै जिल्लामा गरी कुल १ सय ४३ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिलाई मताधिकार सुनिश्चित गर्न आयोगले यी केन्द्र स्थापना गरेको थियो । ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयारी गरेको छ । निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाएका छौं ।’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म नभएको र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको बताएका हुन् । निर्वाचनको पूर्वसन्ध्यामा सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता भएको पनि उहाँको भनाई रहेको छ । ‘सम्भावित घटनाहरूलाई बेलैमा पहिचान गरी नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण तय गर्न सुरक्षाकर्मी खटिएको हो ।’ उहाँले भन्नुभयो ।
मतदानपछि मटपेटिका सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेको २४ घण्टाभित्र मतपरिणाम निकाल्ने तयारी गरिएको पनि आयोगले जनाएको छ । मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने बताउँदै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताउनुभयो ।
मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको बताउँदै उहाँले भन्नुभया – ‘मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने छ ।’ उहाँले भन्नुभयो ।
‘कतिपय ठाउँमा हेलिकोप्टरमा मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे भन्ने हल्ला सुनेको छु, त्यो किञ्चित होइन, कुनै हालतमा हुँदैन । मतगणना गर्ने बेलामा दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप ठीक छ कि छैन भनेर हेरेर मुचुल्का बनाएपछि मात्र मतगणना सुरु हुन्छ । त्यसैले यस्ता शंका र उपशंकामा कुनै सत्यता छैन ।’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो ।
भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाका ६१ वटा स्थानमा मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गर्नेछ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिनुभयो ।

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाएका छौं ।
रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त











प्रतिक्रिया