आज २१ फागुन, नेपालका लागि केवल पात्रोको एउटा मिति होइन, यो लोकतन्त्रको उत्सव हो । आजको दिन जनताले आफ्ना जनप्रतिनिधि र शासक छान्दैछन् । आजको मतले भोलिको शासन निर्माण गर्छ, आजको निर्णयले भोलिको पुस्ताको दिशा तय गर्छ ।
लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भनेकै यसको चाबी जनताको हातमा हुनु हो । त्यो चाबी आज हामीले प्रयोग गर्दैछौँ । प्रश्न केवल कसलाई जिताउने भन्ने होइन, प्रश्न हो, हामी कस्तो नेपाल चाहन्छौँ ? स्थिर, सुशासित, विकासशील र आत्मसम्मानयुक्त नेपाल कि फेरि पनि अस्थिरता, कुशासन र निराशाको चक्रमा फस्ने नेपाल?
पछिल्ला वर्षहरूमा देशले धेरै उतारचढाव भोग्यो । संविधानसभादेखि संघीय संरचनासम्मको यात्रा पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ । संघीय संसद् र स्थानीय तहहरूले लोकतन्त्रलाई संस्थागत गर्ने प्रयत्न गरेका छन् । तर विकृति, भ्रष्टाचार, स्वार्थको राजनीति र जिम्मेवारीहीन व्यवहारले जनताको आशा धेरै पटक निराशामा बदलेको यथार्थ पनि हामी सामु छ । त्यसैले आजको दिन केवल उत्सव होइन, आत्ममन्थनको दिन पनि हो । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका विषय पनि प्रमुख बनिनु पर्छ ।
जनताको मत यदि गलत व्यक्ति वा गलत सोच बोकेको दलको पक्षमा गयो भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्छ । एक पटकको लापरबाही पाँच वर्षको पीडामा बदलिन सक्छ । गलत छनोटले विकास रोकिन सक्छ, सुशासन टाढिन सक्छ, र युवाको भविष्य पुनः अन्योलमा पर्न सक्छ ।
हामीले लहै–लहमा निर्णय गर्नुहुँदैन, भीडको नारामा पनि बग्नुहुँदैन । सामाजिक सञ्जालका ट्रेन्ड, एल्गोरिदम र प्रचारका चमकधमकमा फस्नु हँुदैन । लोकप्रियता र योग्यता एउटै कुरा होइन । भाषणको जोश र कामको क्षमता फरक कुरा हो । त्यसैले आज हामीले गम्भीर रूपमा सोचेर सही निर्णय गर्नुपर्ने दिन हो ।
त्यसैले मतदान केन्द्रमा जाँदा हामीले आफैंलाई सोध्नुपर्नेछ :
–यो उम्मेदवार हाम्रो गाउँ–ठाउँको माटोलाई चिन्छ ?
–उसले विगतमा जिम्मेवारी पाउँदा इमान्दारिता देखाएको छ ?
–ऊ केन्द्रमा गएर हाम्रो पक्षमा निर्णायक आवाज उठाउन सक्छ ?
–ऊ राष्ट्रियता, स्वाधीनता र जनहितलाई शिरमा राखेर हिँड्न सक्छ ?
देश वर्षौँदेखि थुप्रिँदै आएको विकृति र कुशासनका अखडाबाट थलिएको छ । ती अखडाहरू भत्काउन साहस, नैतिकता र स्पष्ट दृष्टिकोण चाहिन्छ । हामीले त्यस्ता प्रतिनिधि रोज्नुपर्छ जो कुर्सीका लागि होइन, कर्तव्यका लागि राजनीति गर्छन्, जो अवसरका लागि होइन, उत्तरदायित्वका लागि अघि बढ्छन् ।
लोकतन्त्र केवल अधिकार होइन, दायित्व पनि हो । मताधिकार हाम्रो संवैधानिक अधिकार हो—तर विवेकपूर्ण प्रयोग गर्नु हाम्रो नैतिक दायित्व हो । कसैको दबाब, लोभ, डर वा भावनात्मक उक्साहटमा लागेर होइन, आफ्नै अन्तरात्माको आवाज सुनेर निर्णय गर्नुपर्छ ।
आज हामीले भाग लिँदै गरेको यो उत्सवले देशलाई निर्णायक मोड दिन सक्छ । स्थिरता, सुशासन र विकासको नयाँ अध्याय सुरु गर्न सक्छ । यदि, हामीले सही छनोट ग¥यौँ भने संसद् र सरकारमा त्यस्ता प्रतिनिधि पुग्नेछन्, जसले जनताको भरोसा टुट्न दिने छैनन् ।
हामीले सामाजिक सञ्जालमा धेरै ‘लोकप्रिय’ अनुहार देख्छौँ । तर, देश निर्माण ‘लाइक’ र ‘सेयर’ ले होइन, इमान्दार काम र दीर्घकालीन सोचले हुन्छ । त्यसैले एल्गोरिदममा चर्चित भएकोभन्दा व्यवहारमा प्रमाणित भएको व्यक्ति रोजौँ ।
आजको मतले केवल सरकार बनाउँदैन, संस्कार पनि बनाउँछ । आजको निर्णयले केवल प्रतिनिधि छान्दैन, राजनीतिक चरित्रको स्तर पनि निर्धारण गर्छ ।
जनता जनार्दन सचेत भए भने लोकतन्त्र बलियो हुन्छ । सचेत मतदाताले नै असल प्रतिनिधि जन्माउँछन् । असल प्रतिनिधिले नै सुशासन दिन सक्छन् । सुशासनले नै विकास र समृद्धिको बाटो खोल्छ।
त्यसैले यो महान लोकतान्त्रिक महोत्सवमा उत्साहका साथ सहभागी बनौँ । विवेक, साहस र जिम्मेवारीका साथ मतदान गरौँ । देश, राष्ट्रियता र माटोलाई शिरमा राख्ने, जनताको माया हृदयमा बोकेर हिँड्ने र कुशासनका जञ्जीर तोड्न सक्ने प्रतिनिधिलाई जिताएर पठाऔँ । आजको सही निर्णयले भोलिको नेपाल उज्यालो बनाउन सक्छ । आजको एक मतले नयाँ इतिहास कोर्न सक्छ।











प्रतिक्रिया