सिडब्ल्यूसी लिग २ सिरिज स्थगित


काठमाडौं।

अर्को साता काठमाडौंमा सुरु हुने भनिएको क्रिकेट विश्वकप (सिडब्ल्युसी) लिग २ को त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित गरिएको छ ।
मध्यपूर्व क्षेत्रमा देखिएको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज स्थगित भएको बताइएको छ। सिरिजमा नेपालसहित ओमान, युएईको सहभागिता रहने थियो । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले नेपालमा तय भएको यो सिरिज स्थगित भएको बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
सिरिज कीर्तिपुरस्थित टियु स्टेडियममा फागुन २६ देखि चैत ६ गते हुने सिरिजका लागि युएई र ओमानको टोली नेपाल आउने तय थियो ।

विज्ञप्तिमा भनिएको छ , ‘मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएका सिडब्ल्युसी लिग–२ का खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएका छन्। ओमान, यूएई र नेपालसँग सम्बन्धित खेलहरू प्रभावित छन्।आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिनेछ ।’
खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण युएई र ओमानका टोली नेपाल आउनका लागि समस्या भएपछि सिरिज स्थगित भएको हो। सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली हाल बन्द प्रशिक्षणमा छ।

८ टोली सहभागी लिग–२ मा नेपाल २० खेलबाट १२ अंक सातौं स्थानमा छ । ओमान २४ अंकसहित चौथो र युएईको १० अंकका साथ पुछारमा छन् ।