रियाद, (एजेन्सी)
साउदी प्रो लिगका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले परिवारको सुरक्षालाई मुख्य प्राथमिकता दिँदै आकस्मिक रूपमा साउदी अरब छोडेका छन् ।
रियादस्थित अमेरिकी दूतावासमा भएको ड्रोन आक्रमणपछि उत्पन्न क्षेत्रीय तनाव र सुरक्षा जोखिमका कारण अल–नासिरका यी स्टार स्ट्राइकरले देश छोड्ने निर्णय लिएका हुन् । अन्तर्राष्ट्रीय सञ्चारमाध्यमका अनुसार रोनाल्डो आफ्नो निजी विमान ‘बम्बार्डियर ग्लोबल एक्सप्रेस’ मार्फत मध्यरातअघि नै स्पेनको मेड्रिडमा अवतरण गरिसकेका छन् ।
मध्यपूर्वमा एकाएक चर्किएको द्वन्द्व र अमेरिकी नियोगलाई लक्षित गरी इरानी ड्रोन प्रहार भएपछि साउदीमा रहेका विदेशी नागरिक र उच्चपदस्थ व्यक्तित्वहरूमा त्रास फैलिएको छ । यही सुरक्षा संकटलाई मध्यनजर गर्दै एसियाली फुटबल महासंघ (एएफसी) ले पश्चिम क्षेत्रका निर्धारित खेलहरू समेत स्थगित गर्ने निर्णय गरेपछि रोनाल्डोले सुरक्षित गन्तव्यतर्फ लाग्ने कदम चालेका हुन् ।
रोनाल्डोको यो आकस्मिक बहिर्गमनले साउदी फुटबल र त्यहाँको सुरक्षा अवस्थाबारे विश्वव्यापी रूपमा गम्भीर प्रश्न उठाएको छ । वर्तमान परिस्थितिमा अन्य विदेशी खेलाडी र कुटनीतिज्ञहरूले पनि साउदी छोड्ने क्रम बढेको रिपोर्टहरू सार्वजनिक भएका छन् । साउदी प्रो लिगको मुख्य आकर्षणका रूपमा रहेका रोनाल्डोको प्रस्थानले लिगको भविष्य र मुलुकको सुरक्षा प्रत्याभूतिमा ठूलो धक्का पुग्ने विश्लेषण गरिएको छ ।











प्रतिक्रिया