काठमाडौं।
भारतको कोलकातास्थित इडेन गार्डेन्समा भएको टी २० विश्वकपको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्ड विजयी भएको छ । ओपनर फिन एलेनको आक्रमक ब्याटिङको सहयोगमा न्युजिल्यान्डले बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले सहजै पराजित गरेको हो ।
योसँगैं गत संस्करणको रनरअप टोली दक्षिण अफ्रिकाको चुनौती यस विश्वकपमा समाप्त भयो । यो जारी प्रतियोगितामा दक्षिण अफ्रिकाको पहिलो हारसमेत हो । मार्करमको टोलीले लगातार सात खेल जितेर सेमिफाइनलमा स्थान बनाएको थियो ।
यो हारपछि दक्षिण अफ्रिकाको टी २० विश्वकप जित्ने सपना पनि चकनाचुर भएको छ । गत संस्करणमा टोली भारतसँग फाइनलमा पराजित हुँदैं उपाधिबाट विमुख भएको थियो । यसपटक भने फाइनलमा पुग्ने सबैको अनुमान भएपनि न्युजिल्यान्डले गलत सावित गरिदियो ।
न्युजिल्यान्डले टी २० विश्वकपको इतिहासमा पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध जित हासिल गरेको छ । यसअघि दक्षिण अफ्रिकासँग न्युजिल्यान्डले ५ भेटमा हार बेहोरेको थियो । यसै जारी प्रतियोगिताको समूह चरणमा पनि न्युजिल्यान्ड दक्षिण अफ्रिकासँग हारेको थियो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १ सय ७० रनको विजयी लक्ष्य तेर्साएको थियो । जवाफमा न्युजिल्यान्डले केवल एक विकेटको नोक्सानमा १३ औं ओभरको पाँचौं बलमा जित हासिल गरेको थियो । योसँगैं न्युजिल्यान्ड दोस्रो पटक टी २० विश्वकपको फाइनलमा पनि पुगेको छ । अहिलेसम्म न्युजिल्यान्डले उपाधि जित्न भने सकेको छैन ।
एलेनले ३३ बलमै शतक हाने
न्युजिल्यान्डलाई जित दिलाउन ओपनर एलेनले सर्वाधिक १०० रन बनाए । उनले ३३ बलमै शतक प्रहार गरेका थिए । नटआउट रहेका उनले यस खेलमा १० चौका र ८ छक्का प्रहार गरेका थिए । उनले शतकमा पुग्न १३ औं ओभरमा यान्सेनको बलिङमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै अर्का ओपनर टिम सेइफेर्टले ५८ रन बनाए । यस्तै, उनीहरूले पहिलो विकेटका लागि १ सय १७ को शतकीय साझेदारी गर्दै जितको आधार बनाएका थिए । यो जोडी कागिसो राबाडाले १० औं ओभरको पहिलो बलमा तोडेका थिए ।
यान्सेनको अर्धशतकीय पारी
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ स्कोर बनाएको थियो । टोलीका लागि मध्यक्रमका ब्याटर मार्को यान्सेनले अर्धशतकीय पारी खेले । उनी ३० बलमा दुई चौका र पाँच छक्कासहित ५५ रनमा नटआउट रहे ।
त्यस्तै चौथो नम्बरका डिवाल्ड ब्रेभिसले ३४ र छैटौं नम्बरमा आएका ट्रिस्टन स्टब्सले २९ रनको योगदान गरे । यसबाहेक ओपनर तथा कप्तान ऐडेन मारक्रमले १८ र विकेटकिपर ब्याटर क्विन्टन डिककले १० रन बनाए ।
न्युजिल्यान्डका लागि म्याट ह्यारी, कोल म्याककोन्ची र रचिन रवीन्द्रले समान दुई विकेट लिए । अर्को दुई विकेट लोकी फग्र्युसन र जिमी निसमले बाँडे । न्युजिल्यान्डको फाइनलमा सामना इंग्ल्यान्ड वा सहआयोजक भारतसँग हुनेछ । दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।











प्रतिक्रिया