१३ वर्षमै राष्ट्रिय टोलीमा डेब्यु गरेकी इभाना थापा

ओलम्पिक सपना देखेकी इभानाको निद्रामै ¥याकेट चलाउने लत

376
Shares

जहाँ समय अलि बिस्तारै हिँडे जस्तो लाग्छ र बालबालिकाका हाँसोले गल्लीहरू गुन्जायमान हुन्छन्, त्यहीँ कतै एउटा असाधारण भविष्य चुपचाप आकार लिँदै थियो । ती साधारण गल्लीहरूमा साइकल चढेर खेल्ने र दौडिने एउटी सानी बालिकाको आँखामा ऊर्जा, आत्मविश्वास र केही ठूलो गर्ने अदम्य चाहनाले भरिएको असाधारण चमक थियो । ती बालिका थिइन् इभाना थापा । उमेरले १८औं वसन्तमा टेकिरहेकी आज यो नाम नेपाली टेबल टेनिस खेलको आकाशमा उदीयमान तारा बनेर चम्किरहेको छ । उनी केवल राष्ट्रियस्तरकी सफल टेबल टेनिस खेलाडी मात्र होइनन्, सपनालाई कर्ममा रूपान्तरण गर्ने साहसको जीवित उदाहरण हुन् । दश वर्षको कलिलो उमेरमा रमाइलाका लागि टेबल टेनिस ¥याकेट समातेकी एउटी सानी बालिकादेखि महिला एकलतर्फ नेपालको नम्बर १ बन्ने यात्रासम्म आइपुग्दा उनले संघर्ष, समर्पण र आत्मविश्वासको अद्भुत कथा रचेकी छन् ।

उनको यात्राको आरम्भ ललितपुरस्थित आदर्श विद्या मन्दिर विद्यालयको एभीएम टेबल टेनिस क्लबको सामान्य हलबाट भयो । साथीहरूसँग खेल्दै, हाँस्दै बित्ने बाल्यकालबीच नियतिले उनलाई फरक बाटोतर्फ डो¥यायो । प्रशिक्षक पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल श्रेष्ठजस्ता पारखी आँखाले इभानाभित्र लुकेको प्रतिभा चिन्न सके । पहिलोपटक ¥याकेट समाएर सेतो बल प्रहार गर्दा उनले केवल खेल मात्र सुरु गरेकी थिइनन्, उनले आफ्नो जीवनको लय भेट्टाएकी थिइन् । बलको गति, स्पिनको ताल र टेबलमा ठोक्किँदा निस्कने टकटक आवाज उनको मुटुको धड्कनसँग मिसिन थाले । त्यही क्षणदेखि टेबल टेनिस उनको लागि खेल मात्र रहेन, जीवनको अभिन्न हिस्सा बन्यो ।

सफलताको बाटो भने सहज थिएन । साँघुरो हल, सीमित साधन र पुराना बोर्डहरूबीच अभ्यास गर्दै उनले आफूलाई निखारिन् । तर, घरभित्र भने द्विविधा थियो । मध्यमवर्गीय परिवारमा पढाइलाई प्राथमिकता दिइन्छ र उनकी आमा इन्दु आलेलाई छोरीको भविष्यबारे स्वाभाविक चिन्ता थियो । यही अन्योलका बीच हजुरआमा हरिमाया मगरको विश्वास इभानाका लागि बलियो आधार बन्यो । जसको खेलमा लाग्न प्रेरित वाक्यले उनलाई ऊर्जा मिल्यो ।

इभानाको खेलप्रतिको समर्पण र पागलपन यति गहिरो थियो कि उनी निद्रामा पनि टेबल टेनिस नै खेलेको अभिभावकको मुखबाट सुन्थिन् । राति सुतिरहेको बेला उनका हातहरू अचानक हावामा चल्थे, मानौँ उनी कुनै प्रतिस्पर्धीको बललाई कडा प्रहारले जवाफ दिइरहेकी छिन् । यो केवल बालसुलभ व्यवहार मात्र थिएन, यो त एउटा खेलमा सफल हुने अवचेतन मनको पूर्वाभ्यास थियो । उनको यो लतले छिट्टै नतिजा देखायो । सातदोबाटोमा आयोजित विद्यालयस्तरीय प्रतियोगितामा कांस्य पदक जित्दा उनले आफ्नो यात्राको पहिलो सशक्त पाइला चालिन् । त्यसपछि पोखरामा यु–१६ मा रजत र दशरथ रंगशालामा राष्ट्रपति कपको स्वर्णले उनको नाम फैलियो । त्यसपछि कैयौं प्रतियोगिताहरूमा अब्बल दर्जाको खेल पस्केर आफूलाई उदीयमान ताराको रुपमा स्थापित गरिन । उनी अब सम्भावनाको नाम मात्र होइन, परिणामको परिचय बनिसकेकी थिइन् ।

१३ वर्षको कलिलो उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गर्नु उनको करिअरको ऐतिहासिक उपलब्धि थियो । सिनियर राष्ट्रिय च्याम्पियनसिप नखेलेकै अवस्थामा सिधै राष्ट्रिय टोलीमा स्थान बनाउने उनी दुर्लभ खेलाडी बनिन् । त्यसयता उनले प्रत्येक उमेर समूहमा आफ्नो वर्चस्व कायम गरिन् र अन्ततः महिला एकलतर्फ राष्ट्रिय नम्बर १ बनिन् । अन्तर्राष्ट्रिय मञ्चमा पनि उनले नेपाललाई गौरवान्वित बनाइन् । दक्षिण एसियाली प्रतियोगिताहरूमा पदक, एसियाली खेलकुदमा सहभागिता र विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धाले उनको आत्मविश्वासलाई थप परिपक्व बनायो ।

तर, जीवन सधैं एकनास हुँदैन । करिअर उकालो लागिरहेका बेला दायाँ कांधमा लागेको चोटले उनलाई केही महिनासम्म कोर्टबाट टाढा राख्यो । त्यो समय उनको जीवनको सबैभन्दा कठिन अध्याय बन्यो । अरूलाई खेलिरहेको देख्दा मन खिन्न हुन्थ्यो, तर हार मान्ने विकल्प उनले रोजिनन् । पुनस्र्थापनाको प्रत्येक दिनलाई उनले नयाँ चुनौतीका रूपमा स्वीकारिन् । पीडालाई शक्तिमा रूपान्तरण गर्दै जब उनी कोर्टमा फर्किइन्, उनी पहिलेभन्दा अझ परिपक्व, बलियो र आत्मविश्वासी बनेकी थिइन् । त्यो पुनरागमन खेलाडीको मात्र होइन, एउटा सपनाको पुनर्जीवन थियो ।

अहिले उनको दिनचर्या अनुशासनको उत्कृष्ट उदाहरण बनेको छ । पढाइ र प्रशिक्षणलाई समान प्राथमिकता दिँदै उनी स्नातक अध्ययनसँगै ओलम्पिक यात्राको तयारीमा छिन् । अभ्यास र अध्ययनको तालिकाबीच उनले समयलाई नै आफ्नो साथी बनाएकी छन् । लस एन्जेलस ओलम्पिकको लक्ष्य बोकेर अघि बढिरहेकी इभानालाई सन् २०२८ को ओलम्पिकसम्म मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त हुने एनओसी ओलम्पिक छात्रवृत्तिले उनको सपनालाई थप उचाइ दिएको छ । “खेलले मलाई जित्न मात्र होइन, विनम्र हुन पनि सिकाएको छ,” भन्ने उनको भनाइले उनको व्यक्तित्व झल्काउँछ ।

आज इभाना थापा हजारौँ नेपाली किशोरीहरूका लागि प्रेरणाको प्रतीक बनेकी छन् । उनले देखाएकी छन् कि सीमित स्रोत र सामान्य परिवेशले ठूलो सपना देख्न रोक्दैन । ऐतिहासिक सहर पाटनका साँघुरा गल्लीबाट सुरु भएको यात्रा आज विश्व मञ्चसम्म फैलिएको छ । उनी केवल पदक जित्न खेलिरहेकी छैनन्, उनी नेपाली खेलकुदको भविष्य निर्माण गरिरहेकी छन् । टेबल टेनिसको नीलो म्याटमा उभिँदा उनका आँखामा देखिने चमक केवल व्यक्तिगत सफलताको चाहना मात्र होइन, सन् २०२८ को ओलम्पिकमा नेपाली झन्डा फहराउने अटल संकल्पको प्रतिबिम्ब पनि हो । इभाना थापा अहिले इतिहास लेख्न प्रयासरत छिन् । संघर्ष, साहस र समर्पणले सजिएको यस्तो इतिहास, जसले आउने पुस्तालाई अझ ठूलो सपना देख्न प्रेरित गर्नेछ ।