काठमाडौ ।
भोजपुरको षडानन्द नगरपालिकास्थित दिङ्ला बजारमा निर्वाचनको मौन अवधिका बेला नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थिति तनावग्रस्त बनेको छ।
अन्य राजनीतिक दलका कार्यकर्ताले भोट किन्नका लागि पैसा वितरण गरिएको दाबी गर्दै नाराबाजी गरेपछि प्रहरीले कार्यालयमा छापा मारेको थियो।
सार्वजनिक भिडियोमा कार्यालय बाहिर सुरक्षाकर्मी र स्थानीयको भिड देखिएको छ। भिडियोमा केही व्यक्तिले कार्यालयबाट पैसा बाँडिएको आरोप लगाएका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लामाको नेतृत्वमा प्रहरी टोलीले कार्यालयमा खानतलासी गरेको थियो।
प्रहरीले आरोपअनुसार कुनै रकम फेला नपरेको जनाएको छ। डीएसपी लामाका अनुसार त्यहाँ १०–११ जना पार्टीका प्रतिनिधि भोलिको रणनीति र कर्मचारी व्यवस्थापनबारे छलफलमा बसेका थिए।
प्रहरीले घटनालाई सामान्य विवादको रूपमा व्याख्या गर्दै हाल स्थिति सामान्य रहेको जनाएको छ।











प्रतिक्रिया