सिन्धुली ।
सिन्धुलीमा यही फागुन २१ गते भोली.(बिहीवार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको सबै तयारी पुरा भएको छ ।

मतदानको लागि बुथ निर्माण, सर्वदलिय बैठक लगाएतका आवश्यक सबै तयारी पुरा गरिएको कमलामाई नगरपालिका ५ को कालिमाई मतदान केन्द्र (क) का मतदान अधिकृत मधु लाखेले बताउनुभयो ।
कमलामाई नगरपालिका ६ खम्बेचौर मतदान केन्द्र (ङ) का मतदान अधिकृत बन्दना बस्नेतले बुथ निर्माण, सर्वदलिय बैठक, दलका प्रतिनिधिहरुलाई पत्र दिने लगाएत सबै तयारी पुरा गरी स्वच्छ र शान्तपुर्वक मतदान गर्ने वातावरण तयार भएको बताउनुहुन्छ ।
निर्वाचनमा खटिएका सबै कर्मचारी मतदान सामाग्री सहित मतदान केन्द्रमा पुगी मतदान अघिका सबै तयारीहरु पुरा गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताउनुभयो ।
जिल्लाका १५१ मतदान स्थल र २७४ मतदान केन्द्र व्यवस्थापन र सुरक्षित बनाउने कार्य सबै सम्पन्न भएको छ । भोली विहान ७ बजे देखि साँझ ५ बजे सम्म मतदानको समय रहेको छ ।
मतदानको समय सकिने वित्तिकै मुचुल्का उठाउन लगाएतका सबै प्रक्रिया पुरा गरी भोली नै सबै मतदान केन्द्रबाट मतपेटीका मतगणना स्थलमा ल्याउने तयारी रहेको मुख्य निर्वाचन अधिकृत विष्टले बताउनुभयो ।
भोली नै सबै मतपेटीका संकलन भए पछि सर्वदलिय बैठकको निर्णय अनुसार पर्सीबाट मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत विष्टको भनाई छ ।
सिन्धुलीको मतगणना यस पटक नयाँ ठाउँमा गरिने भएको छ ।
सिन्धुलीमा यही फागुन २१ गते भोली.(बिहीवार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना नयाँ ठाउँमा गरिने भएको छ । यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जिल्ला प्रशासन कार्यालय सिन्धुली नजिकै रहेको जिल्ला समन्वय समिति सिन्धुलीको नवनिर्मित भवनमा गरिने भएको हो ।
यस अघिका निर्वाचनहरुको मत गणनाको कार्य कमलामाई नगरपालिका –५ मा रहेको बागबानी विकास केन्द्रको भवनमा गरिदै आईएको थियो ।
सिन्धुलीको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति सिन्धुलीको नवनिर्मित भवनमा नै स्थापना गरिएको छ । यसै भवनबाट दुवै निर्वाचन क्षेत्रको मत गणना गर्नको लागि मत गणनास्थल तयार गरिएको क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताउनुभयो ।
दुवै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । दुवै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिक मतपेटीका भण्डार गर्ने कोठा पनि फरक–फरक ्रहेृको छ ।
क्षेत्र नम्बर १ को समन्वय समितिको नवनिर्मित भवनको भुईतलाको दुई वटा कोठामा तीन वटा समुहले मतगणना गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत विष्टको भनाई छ । अधिकृत विष्टका अनुसार क्षेत्र नम्बर २ को भवनको दोस्रो तलाको एउटा कोठामा तीन समुहले मत गणना गर्नेछन् ।
मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन विशेष व्यवस्था गरिएको छ । मत गणना स्थलमा तारजालीले घेरिएर राखिएको छ । मतगणकहरूले सोही घेरिएको तारजाली भित्र बसेर मतगणना गर्नेछन् । मतगणना स्थलमा सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।
उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी बस्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत विष्टले बताउनुभयो ।
सिन्धुलीका ४५ कैदीबन्दीलाई कारागारमै मतदान केन्द्र
सिन्धुलीमा दुई वटा अस्थायी मतदान केन्द्र तय गरिएको छ । १५१ मतदानस्थल र २७४ मतदान केन्द्र रहेको सिन्धुलीमा थप दुई अस्थायी मतदानकेन्द्र थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको छ ।
सिन्धुली कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ४५ जना कैदीबन्दीलाई कारागारमै भोट हाल्ने व्यवस्था मिलाइएको छ । सिन्धुली कारागारमा रहेका ७ महिला र ३८ जना पुरुषले मतदान गर्नेछन् । मतदानको लागि बुथ निर्माण लगाएतका सबै काम सम्पन्न भएको मतदान अधिकृत सुनिता अर्यालले बताउनुभयो ।
यस्तै कर्मचारी लगायत रोजगारीका लागि सिन्धुलीमा बस्नेहरुका लागि जिल्ला हुलाक कार्यालयमा समेत भोट हाल्ने व्यवस्था मिलाएको छ ।
जिल्लामा रहेर कार्यव्यस्तताका कारण मतदानकेन्द्रमा भोट हाल्न जान नसक्नेलाई समानुपातिक मत हाल्नको लागि जिल्ला हुलाक कार्यालयमा मतदान केन्द्र राखिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा महिला १ लाख ३ हजार ६९५, पुरुष १ लाख ११ हजार ३२४ गरी कुल २ लाख १५ हजार १९ जना मतदाता रहेका छन् । जिल्लामा मतदान स्थल १५१ र २७२ स्थायी र २ अस्थायी गरी २७४ मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नम्बर १ मा एक स्वतन्त्र सहित १२ जना र क्षेत्र नम्बर २ मा ५ जना स्वतन्त्र सहित १६ जना गरी कुल २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।











प्रतिक्रिया