निर्वाचन सुरक्षामा समन्वय सुदृढ, भ्रामक सूचना नफैलाउन नेपाली सेनाको आग्रह


काठमाडौं ।

नेपाली सेना ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजनाअनुसार काम भइरहेको स्पष्ट पारेको छ। साथै, निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रसारित भ्रामक र अतिरञ्जित सूचनामा विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेको छ।

जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको अपिलमा नेपाल सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीअनुसार सेना सधैं सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै आफ्नो कर्तव्य निर्वाह गरिरहेको उल्लेख गरिएको छ।

अपिलमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको र सोही योजनाअनुसार सेना गैर–राजनीतिक चरित्र कायम राख्दै परिचालित भइरहेको जनाइएको छ। सबै सुरक्षा अङ्ग तथा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वयमा कार्य भइरहेको सेनाले स्पष्ट पारेको छ।

यसैबीच, निर्वाचनलाई निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउने तयारी भइरहेका बेला केही असान्दर्भिक तथा अतिरञ्जित सामग्रीहरू विभिन्न माध्यमबाट प्रसारित भएकोप्रति सेनाले गम्भीर ध्यानाकर्षण जनाएको छ। “सुनियोजित ढंगबाट प्रसारित त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न/नगराउन हुन आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

निर्वाचन नजिकिँदै जाँदा सुरक्षा संयन्त्र सक्रिय र सतर्क अवस्थामा रहेको तथा समन्वयात्मक रूपमा काम अघि बढाइएको सेनाको दाबी छ।