आदिवासी महासंघको आपत्ति : सोभिता गौतमलाई २४ घण्टाभित्र माफी माग्न माग


भरतपुर।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद्, चितवनले चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोभिता गौतमको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावी कार्यक्रममा दिएको अभिव्यक्ति आदिवासी जनजाति समुदायप्रति अपमानजनक र असंवेदनशील रहेको ठहर गरेको हो। विज्ञप्तिमा उम्मेदवार गौतमले प्रयोग गरेको शब्दावली र आशयले समुदायको स्वाभिमान, पहिचान तथा ऐतिहासिक संघर्षमाथि ठेस पुर्‍याएको उल्लेख गरिएको छ।

महासंघका अनुसार आदिवासी जनजाति समुदायलाई आर्थिक प्रलोभनसँग जोडेर वा कमजोर रूपमा चित्रण गर्ने कुनै पनि अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुन्छ। “आदिवासी जनजाति समुदाय कसैको दया वा पैसामा निर्भर रहने समूह होइन, उनीहरू आफ्नो पहिचान र अधिकारका लागि निरन्तर संघर्षरत समुदाय हुन्,” विज्ञप्तिमा उल्लेख छ।

महासंघले उम्मेदवार गौतमलाई २४ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्दै अभिव्यक्ति सच्याउन माग गरेको छ। अन्यथा, थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

महासंघका अध्यक्ष सागर कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन अभियानका क्रममा जिम्मेवार र संवेदनशील अभिव्यक्ति दिनुपर्नेमा जोड दिइएको छ।