ललितपुर ।
ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि शृङ्खलाबद्ध आक्रमण भएको छ। महालक्ष्मी नगरपालिका–७ चाँगाथली र झम्सीखेल क्षेत्रमा भएका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म कुल १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
चाँगाथलीमा गस्ती टोलीमाथि ढुङ्गामुढा, हवाई फायर
आइतबार राति महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको हो। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) माथि स्थानीय केही व्यक्तिहरूले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको जनाएको छ।
ढुङ्गामुढाबाट केही प्रहरी कर्मचारी घाइते भएका छन्। घाइतेहरूको इमाडोलस्थित किष्ट अस्पताल मा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी स्रोतले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका २९ वर्षीय बुद्ध तामाङ (विकास), सल्यानका २० वर्षीय रमेश शाही र शंकर शाही, तथा रुकुमका २२ वर्षीय राजु मगर रहेका छन्। उनीहरूविरुद्ध अभद्र व्यवहार तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
ललितपुर जिल्ला अदालतले उनीहरूलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
झम्सीखेलमा पनि आक्रमण, थप आठ जना नियन्त्रणमा
यसैबीच, झम्सीखेल क्षेत्रमा समेत ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। सो घटनामा संलग्न रहेको आरोपमा थप आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।
प्रहरीका अनुसार दुवै घटनाको प्रकृति, कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको छ। शान्ति–सुरक्षामा खलल पुर्याउने तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
जिल्लामा पछिल्लो समय सार्वजनिक शान्ति भंग गर्ने गतिविधि बढ्दो देखिएकाले सुरक्षाकर्मीको उपस्थितिलाई थप प्रभावकारी बनाइएको प्रहरीले स्पष्ट पारेको छ।











प्रतिक्रिया