७७ वटै जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालयको दाबी- सुरक्षा संयन्त्र उच्च सतर्कतामा


काठमाडौँ ।

गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान मन्त्रालयमा आयोजित भर्चुअल बैठक (जुम) मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी निर्वाचन सुरक्षालगायत व्यवस्थापकीय पक्षको समीक्षा गरिएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहभागी थिए । करिब तीन घण्टा चलेको बैठकमा जिल्लागत निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, संवेदनशील मतदान केन्द्रहरूको अवस्था तथा केन्द्र–जिल्ला समन्वयबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता रमेश आर्चायका अनुसार सबै जिल्लाबाट निर्वाचनको तयारी पूरा भएको र हाल सुरक्षा अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । ‘मतदान स्थलमा आवश्यक जनशक्ति, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री समयमै पुगेको छ,’ उनले भने–‘संवेदनशील क्षेत्रहरूमा थप सुरक्षा सतर्कता अपनाइएको छ’ ।

बैठकमा शान्ति सुरक्षाको वर्तमान अवस्था, निर्वाचनका दिन अपनाउनुपर्ने विशेष सावधानी तथा सम्भावित जोखिम व्यवस्थापनबारे समीक्षा गरिएको थियो। सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय, द्रुत सूचना आदान–प्रदान र आकस्मिक परिस्थितिमा तत्काल प्रतिक्रिया दिने संयन्त्रलाई सुदृढ बनाउने समझदारी बनेको मन्त्रालयले जनाएको छ ।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई स्पष्ट निर्देशन दिएका छन् । उनले निष्पक्ष, भयरहित र शान्तिपूर्ण मतदान वातावरण सुनिश्चित गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन आग्रह गरे ।

निर्वाचन नजिकिँदै गर्दा केही जिल्लामा उम्मेदवार पक्राउ परेका घटना र मौन अवधिमा आचारसंहिता उल्लंघनका प्रयासहरू सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा गृह मन्त्रालयले सुरक्षा व्यवस्थामा कुनै कमजोरी नरहने दाबी गरेको छ ।

मन्त्रालयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकता अनुसार नेपाली सेनासमेत समन्वयात्मक रूपमा परिचालनको तयारीमा छन् । मतदान केन्द्र तथा मतदान स्थलको वर्गीकरण अनुसार सुरक्षा घेरा निर्धारण गरिएको छ ।

गृह मन्त्रालयले नागरिकलाई भयरहित रूपमा मतदान प्रक्रियामा सहभागी हुन आह्वान गर्दै कुनै शंकास्पद गतिविधि देखिए तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार फागुन २१ गते बिहानदेखि साँझसम्म देशभर एकै चरणमा मतदान हुँदैछ । गृह मन्त्रालयले शान्तिपूर्ण, मर्यादित र विश्वसनीय निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहो¥याएको छ ।