पुस्तक चर्चा : ‘इन्द्रेणी सौन्दर्य’, ५७ निबन्धको सङ्ग्रह


काठमाडौं ।

भर्खरै प्रकाशित ‘इन्द्रेणी सौन्दर्य’ ५७ वटा निबन्धहरूको सङ्ग्रह हो । निबन्धकार ज्ञानेन्द्र विवशको नवीनतम यो कृति सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । ५५० रुपियाँ मूल्य रहेको कृतिमा जीवनका विविध पाटाहरू जस्तै– प्रकृति, यात्रा, अध्यात्म, जन्म–मरण, सुख–दुःख आदि पक्षमा निबन्धकारको अनुभूति अभिव्यक्त छ ।

यस सङ्ग्रहमा सङ्कलित निबन्धहरूलाई मोटामोटी सात भागमा विभाजन गर्न सकिने जानकारी वरिष्ठ निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलले गर्नुभएको छ– (१) यात्रा केन्द्रित, (२) दृश्य÷दृष्टि केन्द्रित, (३) अनुभूति केन्द्रित, (४) स्मृति केन्द्रित, (५) फुर्सद केन्द्रित, ६) सौन्दर्य केन्द्रित र (७) अन्य÷विविध । तर सबै निबन्धहरूको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएकाले सङ्ग्रहको शीर्षक पनि ‘इन्द्रेणी सौन्दर्य’ जुराएको हो जस्तो लाग्छ ।

‘इन्द्रेणी सौन्दर्य’ भित्रका ५७ वटै निबन्धहरू खुशीको उत्सव हो, सम्झनाको उत्सव हो । र, आशाको बिहानी हो । यद्यपि यहाँ ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन छ’ र ‘एउटा यस्तो कालो दिन’ पनि छ । रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थितिजस्तै अनुभूतिका यस्तै भाव–विम्बहरू निबन्धकार विवशका निबन्धहरूमा अभिव्यक्त भएका छन् ।

‘इन्द्रेणी सौन्दर्य’ निबन्ध सङ्ग्रहबारे निबन्धकार विवश भन्छन्– ‘इन्द्रेणी सौन्दर्य’ मेरो अनुभूतिको अभिलेखन हो– मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द–रूप ! यस निबन्ध सङ्ग्रहमा सङ्गृहीत मैले देखेका, हेरेका, पढेका र भोगेका विविध अनुभूतिहरूलाई निबन्धको स्वरूपमा अभिव्यक्त गर्ने प्रयास गरेको छु । यी लेखहरू मेरा निजी विचार हुन्, यी मनका तरङ्गहरू हुन्, समयका छापहरू हुन् र जीवनसँग भएको निरन्तर संवादका प्रतिध्वनिहरू ‘इन्द्रेणी सौन्दर्य’ का रूपमा अवतरित भएका हुन् ।

यी निबन्धहरूले जीवनको सम्पूर्णता स्वीकार गर्छन्– जसरी छ, त्यसरी नै ! मेरो लेखक मन पाठकसँगै हिँड्ने, सँगै बस्ने, सँगै जिन्दगीको कुरा गर्ने शैली छ । ‘हतारविनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको भागदौडको जीवनमा एकछिन् रोकिन सिकाउँछन् । आफैँतिर फर्किन र एकछिन् टक्क रोकिन लगाउँछन् ।

निबन्धकार विवशका यसअघि ६ वटा निबन्ध, ३ वटा नियात्रा र ५ वटा जीवनीका कृतिहरू प्रकाशित छन् । विभिन्न साहित्यिक तथा कला पुरस्कारबाट सम्मानित तथा पुरस्कृत ज्ञानेन्द्र विवशको विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर यात्रामा आधारित ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ शीर्षकको नियात्रा सङ्ग्रह शीघ्र प्रकाशोन्मुख रहेको छ ।