निर्वाचनको पदचाप र नयाँ पुस्ताको भरोसा

282
Shares

मुगु ।

अहिलेको निर्वाचनको मिति नजिकिँदै गर्दा जनमानसमा एउटा गहिरो संशय थियो– के निर्वाचन तोकिएकै समयमा होला ? के यो मुलुक फेरि पनि अस्थिरताको भुमरीमा फस्ने त होइन ? तर जब एकैपटक देशभर निर्वाचन सम्पन्न गर्ने सरकारको अठोट र निर्वाचन आयोगको तयारीले मूर्तरूप लियो, तब ती तमाम शंका र उपशंकाका बादलहरू फाटेर गएका छन् । अहिले देशभर एउटा नयाँ उत्साह छ तर यो उत्साहसँगै एउटा गम्भीर प्रश्न पनि जोडिएको छ– यो निर्वाचनले केवल प्रतिनिधि मात्र फेर्ने हो कि देशको नियति नै बदल्ने हो ?

जेनजी आन्दोलनको राप र माग :

पछिल्लो समय नेपालको सडकदेखि सामाजिक सञ्जालसम्म जेनजी पुस्ताको आवाज बुलन्द भएको छ । यो त्यो पुस्ता हो, जसले सूचना प्रविधिको युगमा संसार हेरिरहेको छ र आफ्नो देशको कछुवा गतिको विकाससँग असन्तुष्ट छ । यो पुस्ताले उठाएका मुद्दाहरू– पहुँचवालाको सिन्डिकेट तोड्ने, प्रविधिमैत्री सेवा प्रवाह गर्ने र योग्यताको कदर गर्ने अहिलेको निर्वाचनको मुख्य एजेन्डा बन्नुपर्छ ।

यो आन्दोलनले सिकाएको पाठ भनेकै अब यथास्थितिवाद चल्दैन भन्ने हो । निर्वाचनको यो माहोलले ती युवाहरूमा आशा जगाएको छ, जो हिजोसम्म पासपोर्ट बोकेर विमानस्थलको लाइनमा लाग्न विवश थिए । यदि निर्वाचित हुने नयाँ नेतृत्वले यो पुस्ताको मर्म बुझ्न सकेन भने, अहिले देखिएको यो आशा फेरि अर्को ठूलो विद्रोहको ज्वालामुखी बन्न सक्छ ।

नेपाली समाजको क्यान्सर भनेकै भ्रष्टाचार हो । नीतिगत भ्रष्टाचारदेखि प्रशासनिक ढिलासुस्तीसम्मले आम नागरिकको राज्यप्रतिको विश्वास क्षयीकरण गरिरहेको छ । निर्वाचनका बेला गरिने चिल्ला भाषणहरूले मात्र अब मतदाताको चित्त बुझ्दैन । जनताले अब ‘एक्सन’ खोजेका छन् ।

नयाँ बन्ने सरकार र जनप्रतिनिधिहरूका सामु सुशासन कायम गर्नु सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो । सरकारी कार्यालयमा जाँदा एउटा वृद्धले पाउने सास्ती, एउटा उद्यमीले भोग्नुपर्ने प्रशासनिक झमेला र ‘सेटिङ’ को जालो नतोडिएसम्म निर्वाचनको कुनै अर्थ रहँदैन । निर्वाचनपछि बन्ने संरचनाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नै पर्छ ।

आज हरेक नेपाली घरको कथा उस्तै छ– घरमा वृद्ध बा–आमा र बाहिरिएको तन्नेरी छोराछोरी । वैदेशिक रोजगारीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र त धानेको छ तर यसले सामाजिक संरचना र उत्पादनशीलतामा ठूलो खाडल बनाएको छ ।

यो निर्वाचनले यस्तो नेतृत्व छान्न सक्नुपर्छ, जसले स्वदेशमै पसिना बगाउने वातावरण सिर्जना गरोस् । कृषिमा आधुनिकीकरण, साना तथा मझौला उद्योगलाई प्रोत्साहन र पर्यटनको विकास नै हाम्रा आधार हुन् । जबसम्म हामी खाद्यान्नदेखि सियोसम्म आयातमा निर्भर रहन्छौँ, तबसम्म हाम्रो राष्ट्रियता बलियो हुन सक्दैन । विदेशी भूमिमा रगत र पसिना बगाउन विवश युवाहरूलाई आफ्नै माटोमा उद्यम गर्ने वातावरण बनाउनु नै नयाँ नेतृत्वको मुख्य अग्निपरीक्षा हुनेछ ।
निर्वाचनको मिति सर्न सक्ने आशंका हटेसँगै अब बल जनताको पोल्टामा छ । हामीले कस्तो प्रतिनिधि छान्छौँ, त्यसैले हाम्रो आगामी ५ वर्ष मात्र होइन, एउटा सिंगो पुस्ताको भविष्य तय गर्नेछ ।

जनप्रतिनिधिको उत्तरदायित्व :

चुनाव जितेपछि जनतालाई बिर्सिने पुरानो परिपाटीलाई खबरदारी गर्नुपर्छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई व्यापारिक वस्तु बनाउनबाट रोक्ने कानुन बन्नुपर्छ । डिजिटल नेपालको नारालाई नारामा मात्र सीमित नराखी सेवा प्रवाहमा अनिवार्य लागू गर्नुपर्छ ।

निर्वाचन लोकतन्त्रको प्राण हो । फागुन २१ को सेरोफेरोमा हुने यो महानिर्वाचनले देशलाई नयाँ दिशा दिनेछ भन्नेमा दुई मत छैन । जेनजी आन्दोलनले उठाएका मुद्दाहरू– भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र परनिर्भरताको अन्त्य नै समृद्ध नेपालका चार स्तम्भ हुन् । यी मुद्दाहरूले निर्वाचनमा उचित स्थान पाउने र निर्वाचित हुनेहरूले यसतर्फ इमानदार प्रयास गर्ने हो भने सुन्दर र शान्त नेपालको सपना टाढा छैन ।

हाम्रो एउटै चाहना हो– अबको निर्वाचनले एउटा यस्तो नेपाल निर्माणको जग हालोस्, जहाँ हरेक नागरिकले गौरवका साथ भन्न सकोस्, ‘मेरो देश बदलिँदै छ र म यसको हिस्सा हुँ ।’