फिल्म संग्राहलयलाई सामग्री दान


नेपाली फिल्म क्षेत्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली फिल्म सग्र्राहालय शुरु गरेको छ।
हालै बोर्डको प्रेक्षालयमा आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यतामा संग्राहालयको शुभारम्भ गरिएको हो। कार्यक्रम नेपाली फिल्म इतिहासलाई संस्थागत रूपमा अभिलेखीकरण गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

शुभारम्भ समारोहमा विभिन्न फिल्मकर्मी, संस्था र निजी संग्राहकहरूले ऐतिहासिक तथा दुर्लभ सामग्री हस्तान्तरण गर्दै संग्राहालय समृद्ध बनाउन सहयोग गरेका छन्। सिने फोकस प्रालिका रजत बुढाथोकीले रेड क्यामेरा प्रदान गरे भने क्लासिक सिने युनिभर्स प्रालिका दिनेश महराले सोनी इएक्स थ्रि क्यामेरा हस्तान्तरण गरेका छन्। सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक एफ १० क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप तथा साउण्ड–भिडियो उपकरणसहित अडियो मिक्सर उपलब्ध गराएका छन्। म्यूजिक नेपाल प्रालिका उत्तम थापाले १५२ नेपाली फिल्मका पोस्टर र आर्टवर्क प्रदान गरेको छ भने ओएसआर प्रालिका रुपेन्द्र खड्गीले फिल्म आर्टवर्कहरू हस्तान्तरण गरेको छ।

त्यसैगरी कान्तिपुर रेडियोले ३ सय ४४ फिल्मका क्यासेट र अडियो सिडी उपलब्ध गराएको छ भने पेज थ्री पत्रिकाका दर्शनबीर शाक्यले नेपाल भाषाका ८० फिल्मको पोस्टर प्रदान गरेका छन्। हाईलाईट्स नेपाल प्रालिबाट जनक तामाङले २ सय २ फिल्मका आर्टवर्क, आईडियल डिजाईनर्सका सुन्दरलाल श्रेष्ठले १ सय ४६ फिल्मका पोस्टरm फिल्मकर्मी मन्दिल श्रेष्ठ र गौरीशंकर धु“जुले ए वन भिजनबाट ऐतिहासिक क्यामेरा र ट्राइपोड, लेखक तथा फिल्मकर्मी नरेन्द्रबहादुर श्रेष्ठले पहिलो चलचित्र अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। छाया“कार पुरुषोत्तम प्रधानले आफू संलग्न ६३ फिल्मका स्क्रिप्ट दिएका छन्। फिल्मप्रेमी खुमराज पौडेलका तर्फबाट प्रतिनिधि प्रिया लामिछानेले ७ सय ४ चलचित्र पोस्टर हस्तान्तरण गरेकी छन्। कार्यक्रममा सामग्री दान गर्ने सबै व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।

बोर्ड अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र संग्राहालय स्थापना आप्mनो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली फिल्मको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गरे।