सिन्धुली।
सिन्धुलीका सीमान्तकृत माझी समुदायले सामूहिक रूपमा कोशी पूजा गरेर लदी पर्व मनाएका छन् । माझी समुदायले हरेक वर्ष फागुनको तेस्रो मंगलवार विशेष पर्वका रूपमा लदी पर्व मनाउने चलन छ ।
मरिण गाउँपालिकाकामा रहेका माझी समुदायले पनि लदी पर्व धुमधामका साथ मनाएका छन् । मरिण गाउँपालिकाको सात वटै वडामा बसोवास गर्ने माझी समुदायले आ–आफ्नो वडामा सामूहिक रूपमा मरिण खोलामा पूजाआजा गरी लदी पर्व मनाएका हुन् ।
हरिहरपुरगढी गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले पनि मरिण खोलामै पूजाआजा गरी लदी पर्व मनाएका हुन् । सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले सुनकोशी नदीमा पूजाआजा गरी लदी पर्व मनाएका छन् ।
नदीमा माछा मार्दा र डुंगा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनि माझी समुदायले लदी पर्वको दिन कोशीमा विशेष पूजाआजा गर्दै पर्व मनाईएको नेपाल माझी उत्थान संघको केन्द्रीय समितिका महासचिव बविन्द्रलाल माझीले बताउनुभयो ।

माझी समुदायले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन् । जिल्लाको मरिण गाउँपालिकामा माझी समुदायको बाक्लो बसोबास रहेको छ । पछिल्लो समय लोप हुँदै गएको अवस्थामा माझी समुदायका अगुवाहरूको सक्रियतामा वर्षेनी लदी पर्व धुमधामका साथ मनाइने गरिएको मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले बताउनुभयो ।
लदी पूजामा आएका माझी समुदायले मौलिक पोशाक गुनिउ चोली र फेटा स्टकोटमा सजिएका थिए । नदीको किनारमा ढुंगाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुंगोलाई पूजा गर्ने चलन छ । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको अवसरमा मरिण गाउँपालिकाले स्थानिय सार्वजनिक बिदासमेत दिएको थियो ।
कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझी, वडा अध्यक्ष हर्कवीर माझी, नेपाल माझी उत्थान संघ मरिण गाउँपालिका समितिका अध्यक्ष भगवान माझीलगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया