गृह जिल्लामा भोट हाल्न करिब ५ लाख बाहिरिए

ट्राफिकको तथ्यांकले देखायो असामान्य चाप


काठमाडौं।

भोलि हुने निर्वाचनलाई लक्षित गर्दै राजधानीबाट गृह जिल्ला फर्किने मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ । विभिन्न पेशा–व्यवसाय गर्दै काठमाडौंमा बसोबास गरिरहेका नागरिकहरू मतदान गर्न आफ्नो थातथलो फर्किन थालेपछि नयाँ बसपार्क, कलंकी, कोटेश्वरलगायतका नाकामा भीडभाड बढेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलवार रातिसम्म झन्डै ५ लाखभन्दा मानिसले उपत्यका छोडिसकेका छन् । अझै दुई दिन बाँकी रहेकाले यो संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । ट्राफिक प्रहरीका अधिकारीहरूका अनुसार गत निर्वाचनको तुलनामा यसपटक यात्रु चाप करिब २०–२५ प्रतिशतले बढेको प्रारम्भिक विश्लेषण छ ।

अर्घाखाँचीका रामचन्द्र भुसाल विगतका निर्वाचनमा गृह जिल्ला नफर्किए पनि यसपटक भने मतदान गर्न घर जाँदै छन् । नयाँ बसपार्कमा साथीहरूसँग टिकटको पर्खाइमा रहेका भुसालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसपटक अवस्था अलि गम्भीर छ, आफ्नो रोजाइको उम्मेदवारलाई भोट हाल्नैपर्छ भन्ने लाग्यो ।’
उहाँको भनाइमा विगतमा मतदानप्रति त्यति चासो नदेखाए पनि अहिलेको राजनीतिक परिस्थिति, उम्मेदवारहरूको प्रतिस्पर्धा र सामाजिक सञ्जालमार्फत फैलिएको बहसले उहाँलाई भोट हाल्न प्रेरित गरेको छ ।

यस्तै, होटल व्यवसायमा संलग्न राजन दाहाल पनि व्यवसाय केही दिनका लागि बन्द गरेर धादिङको फूलखर्क जाँदै हुनुहुन्छ । मतदानलाई पवित्र दानको संज्ञा दिँदै उहाँले भन्नुभयो– ‘परिस्थिति अलि संवेदनशील देखिएकाले आफैं उपस्थित भएर भोट हाल्न जान लागेको हुँ ।’

लामो तथा छोटो दूरीका बसहरू विभिन्न राजनीतिक दलका कार्यकर्ताले बुकिङ गरेर आफ्ना क्षेत्रका मतदातालाई लैजाने व्यवस्था मिलाएका छन् । नयाँ बसपार्क र कलंकी क्षेत्रमा देखिएको बस बुकिङको चापले पनि संगठित रूपमा मतदाता परिचालन भइरहेको संकेत गर्छ ।
यातायात व्यवसायीहरूका अनुसार कतिपय बसहरू पूरै ‘रिजर्भ’ गरिएको छ भने कतिपयमा समूहगत टिकट बुकिङ भएको छ । यसले निर्वाचनप्रति दलहरूको चासो र रणनीतिक तयारी स्पष्ट देखिन्छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अघिल्ला निर्वाचनभन्दा यसपटक जिल्ला फर्किनेहरूको संख्या अत्यधिक बढेको बताउनुभयो । ‘दशैंपछि यति ठूलो यात्रु चाप देखिएको थिएन । निर्वाचन परिणाम जे भए पनि मतदाताको आकर्षण बढेको देखेर हामी पनि छक्क परेका छौं’ –उहाँले भन्नुभयो ।

उहाँका अनुसार यात्रु चाप व्यवस्थापन गर्न थप गाडी परिचालन गरिएको छ । तर, एकैचोटि भीड बढ्दा टिकट कालोबजारी, तोकिएको भन्दा बढी भाडा असुली र सवारी सुरक्षाजस्ता चुनौती पनि देखा पर्न सक्छन् ।

ट्राफिक प्रहरीले उपत्यकाका प्रमुख नाकामा अतिरिक्त जनशक्ति परिचालन गरेको जनाएको छ । लामो दूरीका सवारी साधनको प्राविधिक जाँच कडाइका साथ भइरहेको छ ।

प्रहरीका अनुसार अत्यधिक यात्रु चापका कारण केही सडकखण्डमा जामको अवस्था सिर्जना भए पनि समग्रमा व्यवस्थापन नियन्त्रणमै छ । दुर्घटना न्यूनीकरणका लागि रात्रीकालीन सवारीमा विशेष निगरानी राखिएको छ ।

राजधानी छोड्नेको बढ्दो संख्या केवल आवतजावतको तथ्यांकमात्र होइन, यसले मतदाताको मनोविज्ञान पनि झल्काउँछ । राजनीतिक विश्लेषकहरूका अनुसार यस पटकको निर्वाचनलाई मतदाताले ‘निर्णायक मोड’का रूपमा लिएको देखिन्छ ।

सामाजिक सञ्जालमा तीव्र बहस, उम्मेदवारको प्रत्यक्ष पहुँच र स्थानीय मुद्दाप्रति बढ्दो चासोले मतदाता सक्रिय बनेका हुन् । अघिल्ला निर्वाचनमा ‘मतदान नगरे पनि फरक पर्दैन’ भन्ने मनोवृत्ति देखिएको थियो भने यसपटक ‘मेरो भोट निर्णायक हुन सक्छ’ भन्ने भावना बलियो भएको देखिन्छ ।

राजधानीबाट ठूलो संख्यामा मानिस बाहिरिँदा होटल, रेस्टुरेन्ट र खुद्रा व्यापारमा अस्थायी प्रभाव परेको छ । तर, यातायात, पेट्रोलियम र ग्रामीण बजारमा भने कारोबार बढ्ने अनुमान गरिएको छ ।

सामाजिक रूपमा हेर्दा, मतदानका लागि घर फर्किने परिपाटीले लोकतान्त्रिक प्रक्रियामा नागरिकको भरोसा अझै कायम रहेको सन्देश दिन्छ ।
ट्राफिक प्रहरीका अनुसार बुधबार बेलुकासम्म उपत्यका छोड्नेको संख्या पाँच लाख नाघ्नसक्ने अनुमान छ । बसपार्कहरूमा अझै टिकट बुकिङ जारी छ भने थप सवारी साधन परिचालन गर्ने तयारी भइरहेको छ ।

निर्वाचन परिणाम जे भए पनि यसपटक राजधानीबाट गृह जिल्ला फर्किनेहरूको लर्कोले एउटा स्पष्ट संकेत दिएको छ । नेपाली मतदाता निष्क्रिय छैनन् । उनीहरू आफ्नो अधिकार प्रयोग गर्न लामो यात्रा गर्नसमेत तयार छन् । लोकतन्त्रप्रतिको यो सक्रियता स्वयंमा महत्वपूर्ण सन्देश बनेको छ ।