२०८३ सालको बिदाको सूची सार्वजनिक: ३७ दिन सार्वजनिक र ५२ दिन शनिवार बिदा

निजामती दिवसको भोलिपल्ट भदौ २३ मा जेन–जी सहिद दिवस

1.5k
Shares

सार्वजनिक बिदामा १३ सेवा प्रदायक निकाय र २२ प्रकारका सेवा बन्द नहुने

काठमाडौं।

सरकारले भदौ २३ लाई जेन–जी सहिद दिवस मनाउने निर्णय गरेको छ । २०८३ सालको बिदाको निर्णय सार्वजनिक गर्दा सो विषय उल्लेख गरेको हो । तीन दिन राष्ट्रिय रूपमा मनाइने बिदाको सूचीमा यो दिवस उल्लेख छ । यो वर्षसम्म उक्त शीर्षकको दिवसमा निजामती र जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस उल्लेख थियो । आगामी वर्षबाट जेन–जी सहिद दिवस थप भएको छ ।

सरकारले ५२ दिन शनिवार, ३७ दिन सार्वजनिक, ४ दिन, सम्बन्धित धर्म र क्षेत्रसम्बन्धी पर्व बिदाको रूपमा, ४ दिन उपत्यका, १–१ दिन, जितिया र तिज मनाउने महिलाका लागि शिक्षण संस्था, १–१ दिन अपाङ्गता भएका, ३ दिन सम्बन्धित धर्माबलम्बी, २ दिन जन्मजयन्तीको दिन बिदा दिने निर्णय गरेको छ । फागुन १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पञ्चाङ्ग पात्रोका आधारमा बिदा स्वीकृत गरेको थियो । सोही आधारमा गृहमन्त्रालयले हिजो मंगलवार राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

राजपत्रमा बिदाको निर्णय सार्वजनिक भएसँगै लागु भएको छ । बिदा स्वीकृत नभएको कारण भित्तेपात्रो छपाइ गर्न समस्या परेको भन्दै समितिमा गुनासो आउने गरेको थियो । ‘अब गुनासो मेटिएको छ, केही दिनपछि बजारमा पात्रो आउनेछ’–पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले भन्नुभयो ।

सार्वजनिक बिदा हुने पर्वमा वैशाख १ गते नयाँवर्ष, वैशाख १८ गते चण्डी र वैशाख पूर्णिमा, भदौ १२ गते जनैपूर्णिमा, भदौ १९मा कृष्णजन्माष्टमी, असोज २५ गते घटस्थापना, असोज ३१ देखि कातिक ६ गतेसम्म फूलपातीदेखि द्वादशी सम्म दशैं बिदा परेको छ । आगामी वर्ष दशैंमा दुईदिन अष्टमी परेकोले एकदिन बिदा थपिएको छ ।

कार्तिक २२ देखि २६ सम्म तिहार बिदा, कातिक २९ गते छठपर्व, पुस ९ गते धान्यपूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति अर्थात माघी, माघ २४ गते सोनाम ल्होछार, फागुन २२ गते महाशिवरात्री, फागुन २५ गते ग्याल्यो ल्होछार, इदउल फित्र र वकर इद, चैत ७ गते पहाडी र ८ गते तराईमा फागु पुर्णिमा पर्व परेको छ ।

त्यसै गरी भदौ १९ गते गौरापर्ब र सिरुवा पर्वकोदिन बिदा हुनेछ ।
एकदिन थप बिदा निर्णय गरेको पर्वमध्ये दुरा धर्माबलम्बीको पनि रहेको छ । पुस १५ गते दुराम्हैपु नकुमा परेको छ । उक्तदिन सो पर्व मनाउनेको लागिमात्र बिदाको व्यवस्था गरेको छ । भदौ २९ गते हरितालिका तीज र असोज गते जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा हुनेछ । माघ २८ गते सरस्वती पूजाको दिन शिक्षणसंस्था, भदौ १३ गते गाईजात्रा, असोज ९ गते इन्द्रजात्रा,चैत २३ गते घोडेजात्रा र मच्छेन्द्रनाथको भोटो देखाउने दिन उपत्यकामा सार्वजनिक बिदा हुनेछ।

दिवस बिदाअन्तर्गत वैशाख १८ गते (मे–१) मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ शहिद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अर्थात मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवसको दिन सार्वजनिक बिदा परेको छ । त्यस्तै वैशाख १८ गते बुद्ध जयन्ती र पुस २७ गते राष्ट्रिय एकता दिवसमा पनि बिदा हुनेछ । कातिक २५ गते फाल्गुनन्द, मोहम्मद जयन्ती र गुरुनानकको जन्म यजन्तीमा पनि सम्बन्धित धर्माबलम्बीलाई बिदा हुनेछ ।

त्यसै गरी राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन र भदौ २२ गते निजामती सेवा दिवस र २३ गते जेन–जी सहिद दिवस परेको छ । सरकारले आगामी वर्ष विदेशस्थित नेपाली नियोगले सम्बन्धत मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगतगरी बढीमा १८ दिनसम्म आफैंले सार्वजनिक बिदा समायोजन गर्न सक्ने निर्णय गरेको छ ।

बिदाको दिन अत्यावश्यक सेवाअन्तर्गत अस्पताल, दूरसञ्चार, प्रहरी, अध्यागमन, कारागार, फोहोरमैला व्यवस्थापन, दमकल, टक्सार र सार्वजनिक सेवा प्रसारण संस्थाअन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजन, मुद्रण विभाग हुलाक, शान्तिसुरक्षा, विपद् आदिजस्ता दैनिक र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले गरी १३ सेवा प्रदायक मन्त्रालय र सोअन्तर्गतको निकायले सार्वजनिक बिदाको दिन दैनिक सेवा प्रवाह गर्नुपर्ने छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदाको दिनमा २२ प्रकारका सेवा दिने मन्त्रालयअन्तर्गत निकायले आवश्यक सेवा दिनुपर्नेछ । त्यसअन्तर्गत नागरिकतासम्बन्धी, राहदानी, कन्सुलर, भन्सार तथा राजस्व, क्वारेन्टाईन, सवारी अनुमतिपत्र, सवारी साधन दर्ता तथा नवीकरणलगायत यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग वाणिज्य तथा कम्पनी प्रशासनसम्बन्धी र वैदेशिक रोजगार सेवालाई चालू गर्नुपर्नेछ ।

त्यसै गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवा, भेटेरिनरी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मत सम्हार, खाद्यगुणस्तर परिक्षण, विभिन्न शिक्षण संस्थाको परीक्षासम्बन्धी सेवा बिदाको दिन पनि सञ्चालन गर्नुपर्ने छ ।

वैदेशिक अध्ययन अनुमति(एनओसी), नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा, सम्बन्धित मन्त्रालय वा निकायले तोकेको सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य कारोबार, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य सेवा र बैकिङ तथा बिमासम्बन्धी कारोबार गर्ने सरकारी निकायले सेवा चालू गर्नुपर्नेछ ।

सूचनामा प्रदेश सरकारले आफ्नो प्रदेशभरी लागू हुनेगरी ६ दिनमात्र बिदा दिनुपर्नेछ । ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गर्नुपरेमा काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृहमन्त्रालयले निर्णय गरेअनुसार हुनेछ । प्रदेश सरकारले ६ दिन बिदा दिनुअघि कुन–कुन दिन बिदा दिने हो भन्ने विषयमा प्रदेश राजधानी रहेको जिल्ला प्रशासन कार्यालयले यकिन गरी सार्वजनिक बिदाका लागि गृह मन्त्रालयमा अनुरोध गरी पठाउनुपर्ने व्यवस्था छ । सूचनामा सरकारले खाजाको समयसमेत निर्धारण गरेको छ । खाजाका लागि आधा घण्टा अर्थात् दिउँसो साढे १ देखि २ बजेसम्म व्यवस्था गरेको छ ।