निर्वाचनमा मुलुकले जितोस्, नागरिकले जितुन्

0
Shares

मुलुकमा भोलि बिहीबार निर्वाचन हुँदै छ । विभिन्न कोणबाट विभिन्न प्रश्नहरु उठाइए तापनि सरकार र निर्वाचन आयोगले शुरुको दिनबाट नै निर्वाचन गराउने लक्ष्यका साथ अघि बढिरहेको थियो । जनतामा देखिएको निर्वाचनप्रतिको आकर्षणले भोलि फागुन २१ गतेका दिनको निर्वाचन सम्भव भएको हो । निर्वाचनको प्रसंगमा राजनीतिक दलहरुले विरोधी वा विपक्षीहरुको जति नै उछितो काढे पनि निर्वाचनपछि राष्ट्रिय सहमति कायम गरेर मुलुकलाई स्थायित्व प्रदान गर्नुपर्ने कुरामा कोही पछि हट्न सक्दैनन्, यो विश्वास छ । हिजो निर्वाचनको मिति नजिकिँदै गर्दा त्यति नै मात्रामा राजनीतिक दलका नेताहरुको सक्रियता बढेको देखिन्थ्यो । मतदातालाई के भनेर आफूप्रति आकर्षित गर्ने र के भनेर अरुप्रति नकारात्मक भाव पैदा गराउने भन्ने अभियानमा प्रायः उम्मेदवार र तिनका समर्थकहरु लागिपरिरहेका थिए ।

अधिकांश राजनीतिक दलहरुले आ–आफ्नो तर्पmबाट घोषणापत्र वा बाचापत्रहरु सार्वजनिक गरे पनि । राजनीतिक दलहरुले जारी गरेका घोषणापत्र धेरै मतदाताको हातहातमा पुग्न सकेन । कुन राजनीतिक दलको कस्तो बाचा वा प्रतिबद्धता रहेछ भनेर एउटा सचेत मतदाताले गाउँ घुम्दासमेत दस्तावेजहरु हात पार्न सकिरहेको अवस्था रहेन । यसकारण अधिकांश मतदाताले दलहरुको भावी नीति बुझेर मूल्यांकनसहित भोट खसाल्ने अवसरबाट वञ्चित हुनुपरिरहेको छ । घोषणापत्र वा बाचापत्रहरु अध्ययन गर्न पाउनु मतदाता शिक्षाको महत्वपूर्ण कडी मान्न सकिन्छ । तर मतदाताले सुनेको भरमा अर्थात् शून्यतामा नै मतदान गर्नुपर्ने अवस्था रह्यो । मतदाताको हातमा आफ्ना घोषणापत्र वा बाचापत्रहरु नपु¥याउनु दलहरुको कमजोरी मात्र होइन, मतदाताको अवमूल्यन पनि हो । आज पनि उनीहरुमा हामीले भनेपछि सकियो भन्ने अहं भाव बाँकी रहेको देखिन्छ ।

उम्मेदवारहरुले आफ्नो घोषणा वा बाचापत्र मतदाताको हातमा पु¥याउन नसकेपछि उनीहरुले मतदाताको ध्यान आफूप्रति आकर्षित गर्न अरुलाई गाली गर्ने अभ्यास रच्नुपर्ने हुन जान्छ । यसको लागि उनीहरुले आफूलाई कसरी उत्कृष्ट प्रमाणित गर्ने होला भन्नेमा भन्दा पनि अरुलाई कसरी कमजोर देखाउने भन्ने उद्देश्यले षड्यन्त्रका तानाबाना बुनिरहेका हुन्छन् । यसपालिको निर्वाचनमा निर्वाचन प्रचारप्रसारको लागि भन्दा पनि बढी जनतामा अनावश्यक भ्रम र अफवाहहरु फैलाउनको लागि महत्वपूर्ण माध्यम सामाजिक सञ्जाललाई बनाइएको पाइयो । सामाजिक सञ्जालको भरमा मात्र मतदाताले उम्मेदवारहरुको परीक्षण गर्नुपर्ने अवस्था रहँदा पक्कै पनि सही नेतृत्व नआउन पनि सक्छ । राजनीतिक दलहरुले जनतालाई झुक्याउन प्रयास गरे पनि जनता सचेत भइसकेका छन् । उनीहरुले विवेकपूर्ण निर्णय गरेका छन् भन्ने कुराको पुष्टि केही दिनमा प्रमाणित हुने नै छ ।

पक्कै पनि निर्वाचन भनेको जनताले आफ्नो भाग्य र भविष्य कोर्ने महत्वपूर्ण अवसर हो । निर्वाचनमा मतदान गर्नु जनताको कर्तव्य पनि हो । निर्वाचनमा मतदान गर्न चुक्दा हामीले हाम्रो भविष्यमाथि खेलबाड गरिरहेका हुन्छौं । निर्वाचनलाई प्रजातन्त्रको इन्जिन मानिन्छ । इन्जिनमा लापरबाही गरियो भने जसरी मोटरगाडी बिग्रन्छ त्यसै गरी निर्वाचनमा मतदाताले लापरबाही गरे भने जनताको मात्र होइन मुलुककै भविष्य जोखिममा पर्ने गर्दछ । यसको लागि मतदाता शिक्षा व्यापक बनाइनुपर्दथ्यो, तर मतदाता शिक्षा कार्यक्रमलाई पनि पर्याप्त ध्यान दिएको देखिएन । हाम्रो विगतको मतदान कार्यको समीक्षा गर्ने हो भने पनि एउटा बुथमा नै सयौंको संख्यामा मत वदर भइरहेको अवस्था देखिन्थ्यो । कैयौँ मतदाताले कसरी मतदान गर्नुपर्दछ भनेर सामान्य जानकारी पनि प्राप्त नभएको अवस्था थियो ।

मतदाता शिक्षाको अभावको कारण कैयौँ मतदाताले आफ्नो घरमा जो–जो मत माग्न आए ती सबैको निर्वाचन चिह्नमा छाप लगाएर आफ्नो मत बदर गराएको अवस्था देखिन्थ्यो । कैयौँ मतदाताले आज पनि ल्याप्चे छाप लगाइदिने, निर्धारित कोठाको दायाँ–बायाँ स्वस्तिक लगाइदिने गरेको देखिन्छ । कतिपय अवस्थामा पार्टी समर्थित कार्यकर्ताहरुले मत दिँदा यो चिह्नमा छाप लगाउनुपर्छ भनेर सिकाउने गरेका हुन्छन् । त्यो अवस्थामा सिक्ने मतदाताले भनेको ठाउँमा पनि छाप लगाउने र आफ्ना मनपर्ने उम्मेदवारको चिह्नमा पनि छाप लगाउने गरेको देखिन्छ । यसकारण समग्रमा ५ देखि १० प्रतिशतसम्म पनि मत बदर भएको यथार्थ हामीले भोग्नुपरिरहेको छ । पक्कै पनि मतदान कुनै लहड होइन, यो विवेकको परीक्षा हो । मतदातालाई सही तरिकाले मत दिन सिकाउने निर्वाचन आयोगको जिम्मेवारी हो । तर त्यसलाई प्रभावकारी बनाउन सकेको देखिएन । यसको परिणाम यस निर्वाचनमा पनि ठूलो संख्यामा मत बदर हुने सम्भावना देखिएको छ ।

हाम्रो निर्वाचन प्रणालीले कुनै एक दललाई स्पष्ट बहुमत ल्याउन मुस्किल बनाएको छ । कुनै दलले बहुमत हासिल गर्न सकेन भने हिजोकै जस्तो मिलिजुली सरकार बनाउनुपर्ने अवस्था सृजना हुन्छ । मिलेर मुलुक बनाउने हो भन्ने उद्देश्य राखेर मुलुक र जनताको भलो चिताउने दल अग्रपंक्तिमा आए त समस्या कम होला, नत्र हिजोको जस्तो अस्थिर सरकार निर्माण हुन गई काम गर्न नसक्ने अवस्था आयो भने जनतामा वर्तमान व्यवस्थाप्रति बाँकी रहेको विश्वास पनि समाप्त भएर जानेछ । तसर्थ जिम्मेवार दल र तिनका नेताहरुमा मुलुकप्रतिको निष्ठा र जिम्मेवारी विकास हुने पर्दछ । पक्कै एकपटक विचारभन्दा माथि मुलुकलाई राखेर हेर्नुपर्ने हुन्छ ।

निर्वाचनमा मतदान गर्नुअघि मतदाताको एक प्रकारको दायित्व हुन्छ तर निर्वाचन सकिएपछि ५ वर्षको लागि राजनीतिक दल र तिनका नेताहरुले आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । पक्कै पनि मतदान गर्नुअघि मतदाताले कसको घोषणापत्र वा दस्तावेजहरु कस्ता छन् ? ती घोषणापत्र वा दस्तावेजहरुमा लेखिएका कुरा पालना गर्न सक्ने क्षमता कसमा कस्तो छ ? भन्ने अध्ययन गर्नुका साथै आफूले छनौट गर्न खोजेको उम्मेदवारको चरित्रसमेतको विश्लेषण गरेर मतदान गर्नुपर्ने हुन्छ, अर्थात् विवेकको नै प्रयोग गर्नुपर्ने हुन्छ । तसर्थ मुलुकको भविष्य कता लाने भन्ने जिम्मेवारी स्वतन्त्र सार्वभौम नेपाली जनताको विवेकमा अडिएको छ । मतदातामा विवेकको परिपक्वता बढाउन पनि सहकारी शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विडम्बना नै मान्नुपर्ने हुन्छ कि यसपालि पनि सम्बन्धित निकायले सहकारी शिक्षालाई प्रभावकारी बनाउन सकेन ।

करिव २ वर्षअघि सम्पन्न हुने यो निर्वाचनले थुप्रै खाले परिवर्तन र सुधारको अपेक्षा गरेको छ । त्यसको लागि नागरिकले आफ्नो मत जाहेर गर्दै छन् । भोलि प्राप्त हुने परिणामले परिवर्तनलाई आत्मसात् गर्न सक्छ कि सक्दैन, त्यो हेर्नु आजको आवश्यकता बनेको छ । बदलिँदो परिस्थितिसँगै जेनजी आन्दोलनको भावनालाई समेत सम्मान गर्न सक्ने सक्षम र इमानदार नेतृत्वको आवश्यकता देखिएको छ । जेनजी भावनाको कसले सम्मान गर्दछ, त्यसतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । जेनजी आन्दोलन भाद्र २३ र २४ गते घटेको घटना मात्र थिएन, वर्षौ ंअघिदेखिको नेपाली जनताले राज्यबाट राखेको अपेक्षा र गरेको चाहना थियो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र आए पनि जनताको भावनाको पूर्ण सम्मान हुने गरी कार्य गर्न सकेको देखिएन । कार्य गर्न नसक्नु एउटा पाटो होला तर जनभावनालाई तहसनहस पार्नु गम्भीर भूल बनेको छ । आम नेपालीको चाहना भ्रष्टाचारको पूर्ण नियन्त्रण गरेर मुलुकमा सुशासन बहाली गरी समृद्धिको मार्गमा लगिदिए हुन्थ्यो भन्ने थियो । अब प्रसंग बदलिएको छ । नयाँ निर्वाचनले नयाँ नेतृत्व जन्माउनेछ । राजनीतिक दलहरुको घैँटोमा केही घाम पनि लागिसकेको छ । यो अवस्थामा जनताले बढी विश्वास गरेको दलका नेतालाई अन्य दलले पनि साथ दिएर आगामी ५ वर्ष ढुक्कले सरकार चलाउन सक्ने वातावरण बनाउनुपर्दछ । भलै सरकार गठन हुनुअघि राष्ट्रिय सहमति निर्माण गरी ५ वर्षको लागि राष्ट्रिय रोडम्याप तयार गर्नु किन नपरोस् ।

आज संविधान उही छ, कानून उही छ, नीति उही छ तर पनि मुलुकले परिवर्तन खोजेको छ । परिवर्तनकै लागि संसद्को निर्वाचन भएको छ । हुन त परिवर्तन भनेको राजनीतिक दलको परिवर्तन पक्कै होइन होला, राजनीतिक दलमा भएका नेताहरुको सोचमा परिवर्तन खोजिएको हो । जेनजी आन्दोलनपछि केही नेताहरुमा पक्कै जिम्मेवारीपन जागेर परिवर्तन आउँदै गरेको पनि देखिएको छ । यो परिवर्तनको सन्देश उनीहरुले जनभावनाअनुसारको कार्य गरेर जनतालाई विश्वास दिलाउनमा प्रयोग गर्न सक्नुपर्दछ । हिजो हामी जुन ढंगबाट अघि बढिरहेका थियौं, त्यसमा सुधार गरेर हामीले हाम्रो अवस्था परिवर्तन गर्नुपर्दछ । सुधारको नाममा धेरै पटक व्यवस्था परिवर्तन गरियो । अव अवस्था परिवर्तन एउटा मात्र लक्ष्य हुनुपर्दछ । यसको लागि सही नेतृत्व मात्र होइन, संविधान संशोधन गर्न सक्ने आधारसमेत सुनिश्चित गरिदिनुपर्ने भएको छ । आज संविधान संशोधन अपरिहार्य भइसकेको छ । वर्तमान संविधानको केही व्यवस्थाहरुका कारणले मुलुकमा स्थायित्व प्रदान गर्न सक्दैन भन्ने देखिएको छ ।

मतदानकै करा गर्दा मतदातालाई कसरी भोट हाल्ने भनेर त सिकाइन्छ तर मतदाताहरुले कसलाई किन भोट हाल्ने भन्ने प्रश्न आफूमा जगाएर विवेक जगाउन पनि सिकाउनुपर्ने हुन्छ । आफ्नो मतको महत्व के छ भनेर मतदाताले बुझ्नुपर्ने हुन्छ । मतको महत्व नबुझी मतदान गर्दा सही प्रतिनिधिको छनौट हुन सक्दैन । मतदाता जिम्मेवार बन्नुपर्दछ । आज पनि मतदातालाई दुई–चार पैसाको लागि, मासु–भात वा चमेनाको लोभमा वा कुनै व्यक्तिगत आश्वासनको लागि भोट दिने गरेको भनी लाञ्छना लगाउने गरिएको पाइन्छ । यस्ता कमजोरीबाट सम्पूर्ण मतदाता माथि उठ्न सक्नुपर्दछ । जिम्मेवार मतदाता कसरी बन्ने भन्ने शिक्षा पनि मतदाताले पाउनुपर्ने हुन्छ । हाम्रो नातागोताको, हाम्रो सम्वन्धको, हाम्रो चिनजानको, हाम्रो छिमेकको नाता जोडेर मतदान गर्दा पनि गलत नेतृत्व आउन सक्छ । यो निर्वाचनमा सुधार गर्नुपर्ने कुराहरुमा केही सुधार गरियो पनि, तर अर्को निर्वाचनसम्म पुग्दा मतदाताले समेत आफूमा धेरै सुधार गर्नुपर्ने हुन्छ । त्यस्तो वातावरण निर्माण गरिनुपर्दछ । लोकतन्त्रको मेरुदण्ड भनेको नै निर्वाचन हो । निर्वाचन भनेको स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, विवेकपूर्ण निर्णयमा हुनुपर्दछ ।

वास्तवमा भन्ने हो भने, मतदान गर्दा आफूले रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा कसरी छाप लगाउनुपर्छ, स्वस्तिक चिह्नको प्रयोग कसरी गर्नुपर्छ, कति ठाउँमा छाप लगाउनुपर्छ, के–के गरियो भने आफ्नो मत बदर हुन्छ ? आदि कुराहरु मात्र बुझेर मतदाता शिक्षाको औचित्य पूरा हुँदैन । मतदान गर्नु भनेको रमाइलो गर्नु होइन, यो कुनै जात्रा वा पर्व पनि होइन, यो नागरिकको जिम्मेवारी हो । नागरिकले आफ्नो सार्वभौमसत्ताको प्रयोग नै निर्वाचनको माध्यमबाट गर्ने गर्दछ भन्ने वास्तविक शिक्षा जगाएपछि मात्र वास्तवमा निर्वाचनको वास्तविक महत्व स्थापित हुनेछ । तसर्थ निर्वाचन शिक्षा निर्वाचन विधिसँग मात्र होइन, विवेकसँग पनि जोडेर अगाडि बढाउन सक्नुपर्छ, तब मात्र मुलुकले निकास पाउनेछ, मुलुकले जित्नेछ, नागरिकले जित्नेछन् ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)