काठमाडौँ।
भारतको महाराष्ट्र राज्यअन्तर्गत नागपुर जिल्लाको काटोल क्षेत्रमा रहेको विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार बिहान भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ६:३० बजे भएको उक्त विस्फोटमा घाइते भएकाहरूको नागपुरस्थित ओरेन्ज सिटी अस्पतालमा उपचार भइरहेको छ।
बीबीसी मराठीका अनुसार एसबीएल एक्सप्लोसिभ्स कम्पनीमा विस्फोट भएको हो। मुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
उक्त कम्पनी नागपुरबाट करिब ४० किलोमिटर टाढा अवस्थित छ। यहाँ खानी तथा निर्माण क्षेत्रमा प्रयोग हुने विस्फोटक पदार्थ तथा सम्बन्धित सामग्री उत्पादन गरिन्छ।
प्रारम्भिक जानकारीअनुसार विस्फोट डिटोनेटरका कारण भएको हुन सक्ने अनुमान गरिएको छ। डिटोनेटर सानो उपकरण हो, जसले निश्चित समयमा ठूला विस्फोटक पदार्थ सक्रिय गर्ने काम गर्छ।
कारखानामा ठूलो संख्यामा स्थानीय महिलाहरू कार्यरत रहेको बताइएको छ। बिहानको सिफ्टमा महिलाहरू ड्युटीमा रहेका बेला विस्फोट भएको थियो। मृत्यु हुनेमध्ये धेरैजसो महिला रहेको जनाइएको छ।











प्रतिक्रिया