बझाङ।
बझाङकाे बित्थडचिर गाउँपालिका–८ मा राजनीतिक समीकरण फेरि हलचलमय बनेको छ। लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध रहेका दर्जनौँ स्थानीय कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नरेश बहादुर सिंहले उनीहरूलाई पार्टी प्रवेश गराएका छन्।
वडा नम्बर ८ मा आयोजित एक कार्यक्रममा उनीहरूलाई कांग्रेसका स्थानीय नेताहरूले स्वागत गरेका थिए। प्रवेश गर्ने एमालेकार्यकर्ताहरूले पछिल्लो समय एमालेभित्र आन्तरिक समन्वय अभाव, स्थानीय मुद्दाप्रति बेवास्ता र कार्यकर्ताको मूल्याङ्कनमा असन्तुलन देखिएको आरोप लगाउँदै नयाँ राजनीतिक यात्राको सुरुआत गरेको बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार, “एमाले छोड्नेको लर्को” बढ्दै जानुले बित्थडचिर–८ मा पार्टीलाई फेरि झट्का लागेको छ। यसअघि पनि केही सक्रिय युवाहरूले कांग्रेस रोजेका थिए। पछिल्लो सामूहिक प्रवेशसँगै वडा तहको शक्ति सन्तुलनमा परिवर्तन आउने आँकलन गरिएको छ।

कांग्रेस पक्षले भने यसलाई “नीति र विचारप्रतिको आकर्षण” को रूपमा व्याख्या गरेको छ। विकास, पारदर्शिता र सहभागितामूलक नेतृत्वको एजेन्डाले स्थानीय तहमा सकारात्मक सन्देश दिएको दाबी गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, ग्रामीण तहमा हुने यस्ता प्रवेश–बहिर्गमनले केवल संख्यात्मक प्रभाव मात्र होइन, आगामी निर्वाचनमा मनोवैज्ञानिक प्रभावसमेत पार्ने गर्छ। बित्थडचिर–८ को यो घटनाक्रमले बझाङको स्थानीय राजनीतिमा नयाँ बहस र प्रतिस्पर्धा थप चर्किने संकेत दिएको छ। काँग्रेसकाे घरदैलो कार्यक्रममा नेता सिंहसहित स्थानीय नेता कार्यकर्ता उपस्थित रहेकाे नेविसंघ प्रदेश ख का सभापति बिष्णु प्रसाद अवस्थीले जनकारी दिएका छन् । उनले भने अब हेर्न बाँकी प्रवेश लहर केवल असन्तुष्टिको क्षणिक प्रतिक्रिया हो कि दीर्घकालीन राजनीतिक पुनर्संरचनाको अवसर हाे भनेर व्याख्या गरिएको छ ।











प्रतिक्रिया