काठमाडौं।
एडेन मार्करमको सानदार ८२ रनको सहयोगमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको छ । यो जितसँगैं दक्षिण अफ्रिकाले एक पाइला सेमिफाइनलमा राखेको छ ।
जारी प्रतियोगितामा लगातार छैटो जित हासिल गरेको दक्षिण अफ्रिकाको सुपर एटमा ४ अंक भएको छ । पराजित वेस्ट इन्डिजको भने दुई खेलमा २ अंक रहेको छ । समूह १ मा आफ्ना अन्तिम खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वे र वेस्ट इन्डिजले सहआयोजक भारतसँग खेल्नेछन् ।
बिहीबार सुपर ८ अन्तर्गत् समूह १ को खेलमा वेस्ट इन्डिजले १ सय ७७ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा दक्षिण अफ्रिकाले २३ बल बाँकी राखी केवल एक विकेटको क्षतिमा जित हासिल गरेको थियो । टोलीलाई जित दिलाउन कप्तान मार्करमको अर्धशतकसँगैं क्विन्टन डी ककले ४७ रन र रायन रिकेल्टनले ४५ रन योगदान दिए ।
यसअघि वेस्ट इन्डिजको ब्याटिङ धर्मराए पनि जेसन होल्डर र रोमारियो शेफेर्डले सानदार ब्याटिङ गरेका थिए । १०.२ ओभरमै ८३ रनका लागि ७ विकेट पतन भइसकेको थियो । दक्षिण अफ्रिकाका कागिसो रबाडा र बोस्कले २–२ विकेट लिँदा लुन्गी नगीडीले ३ विकेट लिएका थिए ।
तर, होल्डर र रोमारियोले आठौं विकेटका लागि ८९ रनको रेकर्ड साझेदारी गरेर स्कोर १ सय ७६ रनसम्म पु¥याएका थिए । जसमा, रोमारियोले ५२ रन बनाए । होल्डर भने रनआउट हुँदा एक रनले अर्धशतक बनाउन चुकेका थिए ।











प्रतिक्रिया