काठमाडौं ।
सौन्दर्य प्रतियोगिताकी प्रतियोगी सलोनी विष्टले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि आयोजकले गरेको मौखिक यौन दुर्व्यवहारबारे सामाजिक सञ्जाल टिकटकमार्फत खुलासा गरेकी छन् ।
विष्टले मिस भिवाको आयोजक संस्था उमङ्ग क्रियसनका संस्थापक उद्धव अधिकारीले आफूलाई भेट्न बोलाई नाजायज प्रस्ताव राखेको आरोपसमेत लगाएकी छन् । ‘आयोजक उद्धव अधिकरीले मसँग भर्बल सेक्सुअल ह¥यासमेन्ट गर्नुभयो । म एकदमै मेन्टल्ली र फिजिकल्ली विक भइसकेकी छु । भिडियो बनाउने हिम्मत थिएन । मलाई सबैको हेल्प चाहिएको छ’, उनले टिकटकमा भिडियो पोस्ट गर्दै भनेकी छन्– ‘मैले मिस भिवामा भाग लिन फर्म भारें । उहाँहरूले स्विम सुटको भिडियो, एउटा फुल बडी र एउटा फेसलाई फोकस गरेर फोटो पठाउनुपर्छ र इन्ट्रोडक्सन भिडियो बनाउनुपर्छ भन्नुभयो । त्यसअनुसार गरेँ । मलाई केही थाहा थिएन । भयो कि भएन भनेर मेसेज गरिरहेकी हुन्थेँ । स्विम सुटका लागि सोल्टी होटल गएँ । अरू सब ठीक छ तर प्रोपर्ली बडी सेप देख्न पाइनँ भन्नेजस्तो कुरा गर्नुभयो । म बिकिनीमा छु । त्योभन्दा धेरै बडी सेप चाहिने भनेपछि नाङ्गै भएर आउ भन्न खोज्नुभएको हो । त्यो भन्दा बढी के बुझ्ने ?’
सलोनीले आयोजकले आफूलाई नगरकोटमा घुम्ने प्रस्ताव राखेको समेत बताएकी छन् । ‘मैले मेरो कलेज छ, जिम जान्छु काम गर्नुपर्छ भनेर टारे । त्यसपछि मेरो फोन हराएको थियो । फोन हराएको छ सर कहिले प्रोग्राम स्टार्ट हुन्छ भनेको थिएँ । उहाँले चाहिँ इलेक्सनपछि हुन्छ भन्नुभयो । पछि फेरि तिमीसँग भेटेर कुरा गर्नु छ स्विम सुटको दिन तिम्रो दिदी हुनुहुन्थ्यो, मज्जाले खुलेर बोल्न पाइनँ भन्नुभयो । म दिदीलाई सोधेर उहाँलाई भेट्न गएँ । अफिसमा बोलाउनुभएको थियो’, उनले आयोजकले आपत्तिजनक प्रस्तावसमेत राखेको दाबी गर्दै भिडियोमा भनेकी छन्– ‘तिमी कतिको कन्फिडेन्ट छौ । नेकेड हुन सक्नुपर्छ । रुम सेयर गर्ने सिचुएसन पनि आउन सक्छ । तिमीले क्राउन जित्यौ भने हामी बाहिर गएर रुम सेयर गर्न पनि सक्नुपर्छ । तिमी कम्फरटेबल छौ ? भन्नुभयो मैले केही भन्न सकिनँ । म स्ट्रङ भएर बसेँ आफ्नो कमजोरी फिल गर्न दिइनँ ।’
सलोनीले भिडियोमा दाबी गरेकी छन्– ‘शरीरको माथिल्लो भागको भित्री वस्त्रबिना आऊभन्दा आउन सक्नुपर्छ । त्यो कन्फिडेन्स छ तिमीसँग भन्नुभयो । ओ माई गड यति धेरै कुरा आयो, म सकिएँ, मेरो सपना सबै त्यो मान्छेले स्पोइल गर्दिसक्यो । म यति धेरै हार्ड वर्किङ गरिरहेको थिएँ । मेरो परिवारलाई केही गरेर देखाउँछु भनेर कति धेरै सपनाहरू देख्दै थिएँ । उहाँले त्यो सपना सबै मार्दिनुभयो ।’
सलोनीका अनुसार आयोजकले प्रतियोगिताका लागि बाहिरबाट आउने व्यक्तिहरूलाई समेत खुसी पार्नुपर्ने बताएका थिए । ‘अरू ब्युटी पेजेन्टको नाम लिँदै उहाँले सबैले गर्ने त्यही त हो नि । उनीहरू हाइपमा पुग्छ कसरी ? त्यही त हो । यहाँ बाहिरबाट मिस ग्रान्ड, मिस वर्ल्डहरु आउँछन्, सबैलाई खुसी बनाउन पर्छ । आबारा ब्वाइफ्रेन्ड, टपरे केटाहरूसँग डेटिङ जान्छौ, के फाइदा हुन्छ तिमीहरूलाई ? मिस भिवा ब्युटी पजेन्टको जति पनि अर्गनाइजरहरू आउँछन् उनीहरूसँग बेड सेयर गर्नुपर्ने रे, नग्न भइदिनुपर्ने रे उहाँहरूले भन्न खोजेको त्यै हो । म त्यो क्यारेक्टरको मान्छे पनि होइन । मलाई यति धेरै हेल्पको निड छ । त्यो अर्गनाइजरलाई एक्सपोज गर्नैपर्छ र बी अवेर मभन्दा साना बहिनीहरू, नानीहरू त्यो मान्छेले मलाई त्यसरी भन्न सक्छ तपाईंहरूलाई भन्न बेर लाउँदैन । डिप्रेस भएको छु’ –सलोनीले आँखाभरि आँसु पारेर नेपाली समाजसँग हारगुहार गर्दै मद्दत मागेकी छन् ।
उनले अर्को भिडियो पनि पोस्ट गरेकी छिन् । जसमा उनले आफूलाई धेरै युवतीहरूले आफूले पनि त्यस्तै पीडा महसुस गरेको भन्दै उनलाई सान्त्वना दिएको उल्लेख छ । तर, आफूले सोचेको जस्तो अन्य प्रतियोगीहरूले खुलेर बाहिर आएर नबोलेको सलोनीको गुनासो छ । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा आयोजक सम्पर्कमा आएनन् । आयोजकले उनको आरोपबारे सामाजिक सञ्जालमार्फतसमेत प्रतिक्रिया व्यक्त गरेका छैनन् ।
केही दिन अघिमात्र मिस ग्रान्ड नेपाल तथा मिस विभा २०२५ जेसिका सिंह ठकुरीले आयोजकबाट निरन्तर मानसिक यातना र दुर्व्यवहार खेप्नुपरेको आरोप लगाउँदै आफ्नो ताज त्यागेकी थिइन् ।











प्रतिक्रिया