नवलपरासी।
प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लामा त्रिपक्षीय माहौल देखिएको छ ।
विभिन्न राजनैतिक दल र उम्मेदवारहरूले चुनावी सभा,कोण सभा,घरदैलाे तथा मतदाता भेटघाटलाई अघि बढाई रहँदा भाेटरहरूकाे मनस्थिति,जमघट र उपस्थितिलाई पढ्नेहरू काँग्रेस,रास्वपा र एमाले बीचनै मुख्य प्रतिस्पर्धा हुने बताउँछन् ।
नवलपरासी पूर्वकाे क्षेत्र नम्बर १ यस अघि लगातार ४ पटक नेपाली काँग्रेसका नेता एवं बीपी पुत्र शशांक कोइरालाले जित हासिल गर्दै आएका थिए ।
गत ०७९ सालमा यस क्षेत्रमा क्रमशः काँग्रेस, एमाले र रास्वपाबीच सामान्य मतान्तर रहेको थियो ।
काँग्रेसले यस पटक युवा नेता बालकृष्ण घिमिरे,एमालेले ब्यवसायी भागिरथ सापकाेटा र रास्वपाले पुरानै उम्मेदवार राजन गाैतमलाई टिकट दिएको छ ।
यहाँ प्रजातन्त्र प्राप्तिसंगै २०४८ साल देखि काँग्रेसले एकल जित निकाले पनि प्रतिस्पर्धी एमालेकै नजिक नजिक रास्वपाले एकाएक मत ल्याए पछि स्थानीयहरू यहाँ तीन दलका बीचनै मुख्य प्रतिस्पर्धा हुने बताउँछन् ।
क्षेत्र नम्बर २ मा काँग्रेस,एमाले र रास्वपाले नै एक अर्काबीच प्रतिस्पर्धी ठानेका छन् । यहाँ एमालेले आफ्नाे सुदृढ जनसंगठन भएको बताउँछ भने काँग्रेसले यस अघिको जित र पार्टीमा आएको परिवर्तन नै जितको आधार बताउँदै आएको छ ।
यहाँ काँग्रेसले लोकतान्त्रिक जनजाति महासंघका अध्यक्ष ओम बहादुर घर्ती र एमालेले केन्द्रीय सदस्य तिल बहादुर महत क्षेत्रीलाई उम्मेदवार बनाएकाे छ ।
रास्वपाले जेन्जी उम्मेदबार,राष्ट्रिय माहौल र स्थानीयको समर्थन नै जित हुने आधार भएको बताउँदै आएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका थारू नेता गणेशमान महताे र राप्रपाकी युवा नेतृ रून कुमारी महताेकाे उपस्थिति पनि थारू जातिकाे बहुल क्षेत्रमा चुनावी माहौल प्रतिष्पर्धात्मक रहेको बताईन्छ ।
यस्तै पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार उद्योगपति बिनाेद चाैधरी,रास्वपाका बिक्रम खनाल बीच नै मुख्य प्रतिस्पर्धा रहेको स्थानीयहरू बताउँछन् ।
यस अघि चाैधरी बिजयी भएका थिए भने खनालले आफ्नाे पार्टीलाई सहयाेग नगरेकाे भनि काँग्रेसले उनलाई कार्यबाही गरेकाे थियो ।उनै खनाल रास्वपा प्रवेश गरी उम्मेदवारी दिँदा चाैधरीलाई आफ्नै विजय क्षेत्र फलामकै चिउरा बनेको बरुवाका एक स्थानीयले बताए ।
यसै क्षेत्रमा तराईको राजनीतिका कुशल खेलाडी जनता प्रगतिशीलका हृदयेश त्रिपाठी, एमालेका स्थानीय राम प्रसाद पाण्डे लगायतले कडा टक्कर दिएकाछन् ।
यस्तै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा काँग्रेस,राप्रपा र रास्वपा बीच नै प्रतिस्पर्धा देखिएको छ ।
प्रतिस्पर्धी काँग्रेसका भीम बहादुर थापा, राप्रपाका ध्रुबहादुर प्रधान र रास्वपाका नरेन्द्र कुमार लाई नेपाली कम्युनिस्ट पार्टीका पूर्व मन्त्री देबेन्द्र पाैडेल, एमालेका लेखनाथ खरेल, जनमतका जीवन मल्लाह लगायतका उम्मेदवारले टक्कर दिएको बताइन्छ ।











प्रतिक्रिया