त्रिविको विश्व वरीयतामा सुधार, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा थप जोड


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको विश्वका विश्वविद्यालयहरूको वरीयता ( World University Ranking) मा भएको सुधारका साथै विश्व वरीयता थप स्तरोन्नतिको लागि त्रि.वि.ले गरेका प्रयत्नहरूका बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले विश्ववरीयतामा थप महत्त्वपूर्ण सुधार गर्न अनुसन्धानमा लगानी बृद्बी गर्ने, उद्धरण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने, शिक्षण वातावरणलाई आधुनिकीकरण गर्ने, उद्योगहरुसँगको सहकार्य बढाउने र डिजिटल उपस्थितिलाई मजबुत बनाउने बताएका थिए। 

नेपालको सबैभन्दा ठूलो र पुरानो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) Times Higher Education (THE) World University Ranking मा त्रि.वि. यस वर्ष १५०१+ समूहमा परेको छ भने USNews.com मा ९१९औं स्थान र Center for World University Ranking (CWUR) मा १६५७औं स्थान प्राप्त गरेको छ । CWUR अनुसार त्रि.वि. विश्वका शीर्ष ७.८% विश्वविद्यालयहरूमा पर्न सफल भएको छ, जुन गत वर्षको ८.३% भन्दा सुधार भएको छ । 

 विश्वका प्रतिष्ठित र्‍याङ्किङ प्रणालीहरू जस्तै THE, USNews.com र CWUR ले फरक–फरक मापदण्डहरू अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक पर्न गएको छ ।  Times Higher Education (THE)  ले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई, USNews.com ले अनुसन्धान प्रतिष्ठा, प्रकाशन, सम्मेलन र उद्धरण प्रभावलाई  र CWUR ले पूर्व विद्यार्थीहरूको सफलता, प्राध्यापकहरूको विशिष्टता र अनुसन्धानलाई आधार मानेको छ ।यस्ता  फरक मापदण्डहरूले त्रि.वि.को बहुआयामिक क्षमताको मूल्याङ्‍कन गर्दछन् र हामीलाई सुधारका क्षेत्रहरू पहिचान गर्न सहयोग पुर्‍याउँएको त्रिभुवन विश्वविद्यालयवाट गठित विश्वका विश्वविद्यालयहरुको वरियताक्रम World University Ranking का लागी गठित समितिका संयोजक भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा नारायण प्रसाद अधिकारीले बताए । 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले त्रि.वि.को वैश्विक छवि र र्‍याङ्किङमा उल्लेखनीय प्रगति गर्दै  विषयगत र्‍याङ्किङ (वरीयता)  मा त्रि.वि.को प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले त्रिविमा विद्यार्थी सङ्ख्या निरन्तर बढिरहेको र उच्चशिक्षाका समग्र सुधारमा आफूहरु प्रयत्नशिल रहँदा कतिपयले विश्वविद्यालयका सन्दर्भमा गलत भाष्य समेत बनाएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले विद्यार्थीहरुको आकर्षण बढिरहेको, त्रिवि भन्दा कमस्तर र वरियताकाf विश्वविद्यालय अध्ययन गर्न नेपालीहरु विदेशिएकाले सरकारले त्रिवि भन्दा कम वरियताका विश्वविद्यालयहरुका लाई नो अब्जेक्सन सर्टिफिकेट (NOC) बन्द गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए । 

विशेष गरी चिकित्सा (मेडिसिन एन्ड हेल्थ)  विषयमा त्रि.वि. विश्वका ६०१ औं स्थान कायम गरेको  पाइएको छ ।  जुन भारतका आधा दर्जन बाहेक अन्य विश्वविद्यालयहरूभन्दा उत्कृष्ट ठहरिएको हो । यस उपलब्धि मार्फत त्रिविले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षालाई सम्भव भएको प्रमाणित समेत गरेको छ । 

त्रि.वि.ले विश्वविद्यालयको मूल्याङ्कनलाई विद्यार्थी संख्याबाट मात्रै नभई गुणस्तरीय अनुसन्धान, शिक्षण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र समाजमा पुर्‍याएको प्रभाव र योगदानबाट निर्धारण गर्ने लक्ष्य राखेको र पर्याप्त लगानी, रणनीतिक योजना र अन्तर्राष्ट्रिय सहकार्यमा थप बढावा दिई  आगामी वर्षहरूमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको सूचीमा गरिमामय स्थान हासिल गर्ने लक्ष्य लिएको छ।त्रिभुवन विश्वविद्यालयको वैश्विक उपस्थिति र  हामीले प्राप्त गरेको स्थानले त्रि.वि. निरन्तर सुधारात्मक दिशातर्फ अघि बढिरहेको स्पष्ट देखाउँछ, यद्यपी अनुसन्धानको गुणस्तर, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र पूर्वाधारमा थप सुधार आवश्यक महसुस भई निरन्तर परिमार्जित भई गुणस्तरमा केन्द्रित हुने प्रतिबद्धता समेत पत्रकार भेटघाट मार्फत गरेको छ  ।