सूचना चुहावटमा कारबाही गरिएका एसपी चन्द ‘अति संवेदनशील’ राष्ट्रिय सुरक्षा परिषदमा सरुवा


काठमाडौं ।

 गुप्तचर जनशक्ति परिचालन गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय अनुसन्धान विभागले सूचना चुहावटको आरोपमा कारबाही गरेका एक एसपी सरहका अधिकृतलाई ‘अति संवेदनशील’ मानिने राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरेको खुलासा भएको छ।

विभागका उप–अनुसन्धान निर्देशक (एसपी सरह) शेरजंगबहादुर चन्दमाथि संवेदनशील गुप्तचरी सूचना चुहावट गरेको आरोप लागेको थियो। सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न निर्देशन दिएपछि विभागीय कारबाही अघि बढाइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार चन्दको एक ग्रेड रोक्का गर्ने निर्णय गर्दै उनलाई ‘कारबाही स्वरूप’ परिषदमा काज सरुवा गरिएको हो। तर, देशको समग्र सुरक्षा नीति निर्माण, रणनीतिक योजना तथा कार्यान्वयन समन्वय हुने परिषदजस्तो निकायमा कारबाही भोगिरहेका अधिकृतलाई पठाइएको विषयले प्रश्न उठाएको छ। परिषदको अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ भने फौजी नेतृत्व नेपाली सेना ले गर्दै आएको छ।

विभागीय स्रोतका अनुसार चन्दले विभागबाट तयार पारिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनलाई व्यक्तिगत प्रस्तुतीका रूपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएका थिए। यसबाट अनुसन्धानको गोपनीयता भंग हुनुका साथै राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो।

अख्तियारकै निर्देशनपछि उनको एक तह ग्रेड रोक्का गरिएको स्रोतको दाबी छ। उक्त निर्णय विभागका प्रशासन प्रमुख अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) ओम जोशीको नेतृत्वमा भएको बताइएको छ।

कारबाही हुनुअघि चन्द सिंहदरबारस्थित विभाग मुख्यालयको सूचना संकलन शाखामा कार्यरत थिए। विभागले फागुन ८ गतेदेखि लागू हुने गरी उनलाई राष्ट्रिय सुरक्षा परिषदमा काज सरुवा गरेको हो।

यस घटनाले कारवाहीको मापदण्ड, संवेदनशील निकायमा पदस्थापनाको प्रक्रिया तथा आन्तरिक अनुशासनसम्बन्धी व्यवस्थामाथि नयाँ बहस सुरु गराएको छ।