ट्रम्पले भेनेजुएलालाई ‘नयाँ साझेदार’ घोषणा


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद ( कांग्रेस)मा ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्दै भेनेजुएलालाई अमेरिकाको ‘नयाँ साथी र साझेदार’ बताएका छन्। उनले अमेरिकाले भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल आयात गरिसकेको जानकारी दिँदै यसलाई दुई देशबीच सम्बन्ध सुधारको संकेतका रूपमा प्रस्तुत गरे।

हालै अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति Nicolás Maduro लाई पक्राउ गरेको र उनी अमेरिकी जेलमा रहेको उल्लेख गरिएको छ। त्यहाँ उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन्।

सम्बोधनका क्रममा ट्रम्पले ऊर्जा उत्पादन वृद्धि, रोजगारी सिर्जना र विदेशी निर्भरता घटाउने उद्देश्यले अघि सारिएको ‘ड्रिल, बेबी ड्रिल’ नीतिबारे पनि चर्चा गरे। उनले अमेरिकाले दैनिक करिब ६ लाख ब्यारेल तेल उत्पादन बढाएको र प्राकृतिक ग्यास उत्पादन उच्च स्तरमा पुगेको दाबी गरे।

यसबीच, संसदमा ट्रम्पको सम्बोधनका क्रममा विपक्षी डेमोक्रेटिक सांसदहरूले विरोध जनाए। डेमोक्रेटिक सांसद Al Green ले प्लेकार्ड प्रदर्शन गरेपछि केहीबेर विवाद भएको थियो र उनलाई बैठक कक्षबाट बाहिर निकालिएको थियो।