जिम्मेवार नेतृत्वको खोजीमा विवेकपूर्ण मत

564
Shares

नेपाल यति बेला एक ऐतिहासिक मोडमा उभिएको छ । आसन्न संघीय संसद् निर्वाचन २०८२ केवल राजनीतिक प्रतिनिधि चयन गर्ने औपचारिक प्रक्रिया मात्र होइन, मुलुकको भावी दिशा र दशा निर्धारण गर्ने महत्वपूर्ण अवसर पनि हो । विगतका अनुभव, वर्तमानका चुनौती र भविष्यका सम्भावनाहरूलाई गहिराइमा नियालेर निर्णय गर्ने समय यही हो । देशको अवस्था सुधारका लागि नेतृत्व चयनमा आम नागरिकको विवेकपूर्ण भूमिका अत्यन्तै निर्णायक बन्नेछ ।

लोकतान्त्रिक शासन प्रणालीको मूल आधार नै जनताको मताधिकार हो । जनताको मतबाट निर्वाचित हुने नेतृत्वले नै राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएकाले मतदाताको निर्णयले प्रत्यक्षरूपमा राष्ट्रको भविष्य निर्धारण गर्छ । यस्तो अवस्थामा नागरिकहरू क्षणिक भ्रम, लोभ–लालच, डर–धम्की वा भावनात्मक उत्तेजनामा बहकिएर होइन, विगत र वर्तमानलाई सम्यक् रूपमा विश्लेषण गर्दै विवेक प्रयोग गरेर निर्णय गर्न सक्षम हुनुपर्छ ।

देशको अवस्था सुधारका लागि नेताहरूलाई जिम्मेवार बनाउने पहिलो आधार नै नागरिकको सचेत मत हो । मतदाता स्वयं जिम्मेवार बनेनन् भने अपेक्षा अनुरूपको परिणाम प्राप्त गर्न कठिन हुन्छ । अक्सर ‘नेताले गरेनन्’ भन्ने गुनासो सुनिन्छ, तर प्रश्न उठ्छ– हामीले कसलाई रोज्यौं, किन रोज्यौं ? उसले विगतमा के ग¥यो, वर्तमानमा के गर्दै छ र भविष्यमा के गर्न सक्छ ? यी आधारभूत प्रश्नहरूको उत्तर खोजेर मात्र नेतृत्व चयन गर्नु आजको आवश्यकता हो ।

नेतृत्व चयन गर्दा व्यक्तिगत सम्बन्ध, जातीयता, क्षेत्रीयता वा दलगत अन्धसमर्थनभन्दा माथि उठेर देशको हितलाई प्राथमिकता दिनुपर्छ । कुनै पनि नेता वा उम्मेदवारले आफ्नो कार्यकालमा गरेका काम, नीतिगत प्रतिबद्धता, निर्णय क्षमता, संकट व्यवस्थापन कौशल तथा राष्ट्रिय हितप्रति देखाएको संवेदनशीलता मूल्याङ्कनका प्रमुख आधार हुनुपर्छ । देशको संरक्षण गर्ने क्षमता, सामाजिक सद्भाव कायम राख्ने दृष्टिकोण तथा आर्थिक समृद्धिको स्पष्ट योजना भएको व्यक्तिलाई नै नेतृत्वको जिम्मेवारी दिनु निर्वाचनको मूल उद्देश्य हो ।

नेपालको विगत ५० वर्षको इतिहास नियाल्दा राजनीतिक परिवर्तनहरू प्रशस्त भए पनि ती परिवर्तनहरूको प्रत्यक्ष लाभ जनताको जीवनस्तरमा अपेक्षाअनुसार परिलक्षित हुन सकेको छैन । शासन प्रणालीमा सुधार आए पनि सुशासन, पारदर्शिता र उत्तरदायित्वको अभावले विकास प्रक्रियालाई कमजोर बनाएको छ । आर्थिक समृद्धि, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता आधारभूत विषयहरू अझै पनि चुनौतीकै रूपमा विद्यमान छन् ।

यस्तो अवस्थामा सक्षम नेतृत्वको चयन अपरिहार्य छ । उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि तथा उद्योगको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, सूचना–प्रविधिको विकास तथा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सक्ने दृष्टिकोण भएको नेतृत्वको आवश्यकता छ । वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रलाई क्रमशः आत्मनिर्भर बनाउने दिशामा नीति निर्माण र कार्यान्वयन गर्ने क्षमतायुक्त नेतृत्वको अभावले मुलुकको विकास यात्रालाई सुस्त बनाएको यथार्थलाई स्वीकार्नै पर्छ ।

सामाजिक समावेशिता र समानताको सवाल पनि उत्तिकै महत्वपूर्ण छ । महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक, दलित, आदिवासी तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नगरी समावेशी विकास सम्भव हुँदैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा समान पहुँच तथा गुणस्तरीय सेवा उपलब्ध गराउन नेतृत्वले दीर्घकालीन योजना बनाउनु आवश्यक छ ।

राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनको समयमा एक–अर्कोलाई दोषारोपण गर्ने, हिलो छ्याप्ने वा भ्रम सिर्जना गर्ने प्रवृत्ति त्याग्नु जरुरी छ । स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो तर नकारात्मक प्रचारले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ । निर्वाचन निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न भई परिणाम आएपछि त्यसको जिम्मेवारी सम्हाल्ने परिपक्व मनोवृत्ति राजनीतिक नेतृत्वमा देखिनुपर्छ ।

देश सबै नेपालीको साझा सम्पत्ति हो । यसलाई संरक्षण गर्ने दायित्व केवल सरकार वा नेतृत्वको मात्र होइन, सम्पूर्ण नागरिकको पनि हो । राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण गर्दै विकासको मार्गमा अघि बढ्न राजनीतिक नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भने नागरिकले पनि त्यही अनुसार सचेत निर्णय लिनुपर्छ ।

नेपालजस्तो सुन्दर भूमिका नागरिकमा नकारात्मक सोचको विकास र देशमा अस्थिरता ल्याउन खोज्ने तत्वको हाबी हुन नदिन हरेक नाकरिकले एकपटक आफ्नो देश र स्वाभिमानलाई गम्भीर भएर सोच्नु जरुरी छ । देश स्वतन्त्र रहे मात्र नागरिकको स्वाभिमान उच्च र सम्मानजनक रहन्छ । यति बेला लहडमा हैन, विवेक र इमानदारिताको कदर गरौं, देशलाई रणभूमि बनाएर रमिता गर्ने अवसरवादीको जिम्मा लगाएर पछुताउनुभन्दा समयमै सोचौं र अरूलाई जिम्मेवार बनेनन् भन्नुभन्दा पहिला आफैँ देशको सच्चा एवं इमानदार नागरिक बनेर देशको रक्षा गरौं ।

निर्वाचन लोकतान्त्रिक प्रक्रियाको उत्सव मात्र नभई राष्ट्र निर्माणको अवसर हो । सक्षम, इमानदार र दूरदर्शी नेतृत्व चयन गर्न नागरिकले आफ्नो मताधिकारलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सके मात्र देशको समृद्धि र स्थायित्व सुनिश्चित गर्न सकिन्छ । विवेकपूर्ण मतद्वारा जिम्मेवार नेतृत्वको उदय नै नेपालको उज्ज्वल भविष्यको आधार बन्न सक्छ ।