पूर्वी कमान क्षेत्रमा प्रधान सेनापतिको निरीक्षण भ्रमण


काठमाडौं ।

नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पूर्वी क्षेत्रमा रहेका सुरक्षा निकायहरूको निरीक्षण भ्रमण गर्नुभएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रधान सेनापति सिग्देलले फागुन १२ गते सुनसरीस्थित पूर्वी पृतना तथा बर्दीबासस्थित मध्य पूर्वी पृतना र अन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण गर्नुभएको हो।

निरीक्षण भ्रमणका क्रममा उहाँले पृतनाअन्तर्गतका जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारी तथा समग्र वस्तुस्थितिबारे जानकारी लिनुका साथै प्राप्त जिम्मेवारी उच्च मनोबलका साथ सफलतापूर्वक सम्पन्न गर्न निर्देशन दिनुभएको विज्ञप्तिमा उल्लेख छ। नेपाली सेनाले निर्वाचन सुरक्षालाई प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन आवश्यक तयारी तीव्र पारेको जनाएको छ।