काठमाडौं ।
अस्ट्रेलियामा आयोजना हुन लागेको प्रतिष्ठित थण्डरडोम प्रोफेसनल बक्सिङ फाइटमा तीन नेपाली व्यावसायिक मुक्केबाजहरूले भिड्ने भएका छन् ।
आगामी मार्च १३ मा हुने उक्त प्रतियोगितामा नेपालका विकास राणा, महेन्द्र बहादुर चन्द र अनिल कुमार पुन मगरले विभिन्न तौल समूहमा अस्ट्रेलियाली प्रतिस्पर्धीहरूसँग भिडन्त गर्ने निश्चित भएको हो । प्रतियोगिता अन्तर्गत ६९ केजी तौल समूहमा रुकुम पूर्वका विकास राणाले अस्ट्रेलियाका डेभिन केलीको सामना गर्नेछन् । लामो समयदेखि म्याक्स बक्सिङ प्रमोसनमार्फत व्यावसायिक खेलमा सक्रिय राणा अनुभवी खेलाडी मानिन्छन् ।
त्यसैगरी, ६४ केजी तौल समूहमा राष्ट्रिय च्याम्पियन महेन्द्र बहादुर चन्दले अस्ट्रेलियाका तराना सुबारीसँग प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय पदक विजेता चन्दका लागि यो भिडन्त निकै महत्वपूर्ण मानिएको छ । त्यस्तै, ६१ केजी तौल समूहमा दाङका अनिल कुमार पुन मगरले अस्ट्रेलियाली च्याम्पियन एन्थोनीसँग प्रतिस्पर्धा गर्नेछन् । जुनियर नेसनल गोल्ड मेडलिस्ट तथा बंगलादेश र दुबईमा समेत खेलिसकेका पुनका लागि यो खेल व्यावसायिक करियरको कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
नेपाल व्यावसायिक बक्सिङ तथा म्याक्स बक्सिङ प्रमोसनको समन्वयमा हुन लागेको यस प्रतियोगिताका लागि ब्रिजबेनस्थित ‘स्पाइसी मम’ का प्रोप्राइटर एस श्रेष्ठले खेलाडीहरूलाई प्रायोजन गरेका छन् । नेपाली मुक्केबाजहरूको उत्साह बढाउन एनआरएनएका पदाधिकारीहरूले समेत शुभकामना व्यक्त गरेका छन् । नेपाली खेलाडीहरूको यो सहभागिताले अन्तर्राष्ट्रिय व्यावसायिक बक्सिङको मञ्चमा नेपालको पहिचान थप उच्च बनाउने विश्वास लिइएको छ ।











प्रतिक्रिया