रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश, हेटौँडामा आजै रास्वपाको सभा


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका हुन्।

पराजुलीले आज बिहान मात्र रास्वपा मकवानपुर सभापति पदबाट राजीनामा दिएका थिए। पद त्यागसँगै उनले पार्टीभित्र विचार र योगदानभन्दा आर्थिक हैसियतका आधारमा प्रभाव बढ्दै गएको आरोप लगाएका छन्। पार्टीको आन्तरिक निर्णय प्रक्रियामा असन्तुलन देखिएको भन्दै आफूले नयाँ राजनीतिक यात्रा रोजेको बताएका छन्।

कांग्रेस प्रवेश कार्यक्रममा बोल्दै थापाले लोकतान्त्रिक मूल्य, पारदर्शिता र संगठनात्मक अनुशासनमा विश्वास गर्ने व्यक्तिहरूलाई कांग्रेसले स्वागत गर्ने धारणा राखेका थिए। पराजुलीको प्रवेशले मकवानपुरको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको कांग्रेस वृत्तको भनाइ छ।

यता रास्वपाले भने आज मकवानपुरको हेटौँडामा बृहत् सभा आयोजना गरेको छ। सभालाई पार्टी सभापति रवि लामिछानेले दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पराजुलीको राजीनामा र कांग्रेस प्रवेशको घटनाक्रमकै बीच हुन लागेको यो सभालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रास्वपा स्रोतका अनुसार पार्टी संगठन विस्तार र आन्तरिक सुदृढीकरण अभियानलाई तीव्रता दिइनेछ। मकवानपुरमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले आगामी निर्वाचनको सन्दर्भमा दलहरूबीच प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।