पाँच दिनपछि खुले नार्पाभूमीका हिउँले पुरिएका बाटा, सुरक्षा निकायको संयुक्त प्रयास सफल


मनाङ ।

नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न स्थान जोड्ने बाटामा जमेको हिउँ पाँच दिनको निरन्तर प्रयासपछि हटाइएको छ। हिमपातका कारण अवरुद्ध बनेका ग्रामीण मार्गहरू फागुन ११ गतेदेखि पुनः सञ्चालनमा आएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्रीसहित खटिएको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी को संयुक्त टोलीले हिउँ पन्छाउने कार्य सम्पन्न गरेको हो।

विशेष गरी गाउँपालिकाको छ्याँसे, मेता र च्याखुँ क्षेत्रतर्फ जाने बाटाहरू बाक्लो हिउँले पूर्णरूपमा अवरुद्ध भएका थिए। मार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न प्रयोग हुने खच्चड सञ्चालन र स्थानीय बासिन्दाको आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको थियो।

फागुन ६ गतेदेखि सुरु गरिएको हिउँ हटाउने अभियान लगातार पाँच दिन सञ्चालन गरिएको थियो। दुर्गम भौगोलिक अवस्था र अत्यधिक चिसो मौसमका बाबजुद सुरक्षाकर्मीहरूले जोखिम मोलेर काम गरेका थिए।

स्थानीयवासीले बाटो खुलेसँगै राहत महसुस गरेका छन्। सुरक्षा निकायले पुनः हिमपात भएमा आवश्यक सतर्कता अपनाइने जनाएको छ।