काठमाडौं ।
सशस्त्र प्रहरी बल नेपालले आसन्न निर्वाचनको सुरक्षा अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई देशभर खटाउने भएको छ। फागुन ११ गते सोमबारदेखि उनीहरू ७७ वटै जिल्लामा अनुगमनमा जानेछन्।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालयमै र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका बरिष्ठ उपरीक्षकहरुलाई भर्चुअल माध्यमबाट फागुन १० गते आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष निर्देशन दिएका हुन्।
महानिरीक्षक अर्यालले निर्वाचनअघि, निर्वाचनका दिन र निर्वाचनपछिको अवधिमा आउन सक्ने जुनसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका छन्। उनले उम्मेदवार, मतदान केन्द्र, मतदाता र व्यालेट बक्सको सुरक्षामा उच्च सतर्कता अपनाउन जोड दिएका छन्।
निर्वाचन अवधिभर सुरक्षासम्बन्धी सूचना संकलनलाई प्रभावकारी बनाउने, सबै तहका कमाण्डरहरूसँग निरन्तर समन्वय गर्ने र उम्मेदवारहरूसँग सम्पर्कमा रहने कार्यमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। फिल्डमा देखिएका कमजोरी तथा तत्काल समाधान गर्नुपर्ने विषयहरू मुख्यालयमा शीघ्र जानकारी गराउन पनि भनिएको छ।
त्यसैगरी निर्वाचनमा खटिने प्रहरी कर्मचारीलाई सभ्य र नम्र व्यवहार गर्न, उनीहरूको सेवा–सुविधामा कुनै गुनासो नआउने गरी व्यवस्थापन गर्नसमेत महानिरीक्षक अर्यालले निर्देशन दिएका छन्।
सीमा क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउने, बल प्रयोग गर्नुपर्ने अवस्था आए मानवअधिकारको पूर्ण पालना गर्दै आवश्यक प्रमाण संकलन गर्न तथा कानूनअनुसार मात्र बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरहरूलाई स्पष्ट निर्देशन दिइएको छ। निर्वाचन बिथोल्न खोज्ने व्यक्तिहरूको पहिचान गरी सोहीअनुसार रणनीति बनाउने विषयमा पनि जोड दिइएको छ।
सोमबारदेखि अनुगमनमा जाने बरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालयबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।











प्रतिक्रिया