तारकेश्वरमा घरभित्र पस्यो चितुवा, दुई जना घाइते


काठमाडौँ।

काठमाडौँको तारकेश्वर नगरपालिका–९ मा एक घरभित्र चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन्। स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । चितुवाको आक्रमणमा परेर दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन् ।

घाइते महर्जनलाई उपचारका लागि शुभम अस्पताल पुर्‍याइएको छ भने वाग्लेलाई आर्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ। महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको बताइएको छ।

हाल चितुवालाई घरभित्रै नियन्त्रणमा राखिएको छ। डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोलीले उद्धार तथा नियन्त्रणका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको प्रहरीले जानकारी दिएको छ।