हेटौंडा । थाहा नगरपालिका मकवानपुर जिल्लाको एक नगरपालिका हो । २०७१ वैशाख २५ मा नगरपालिका घोषणा गर्दा साबिकका पालुङ, बज्रबाराही र दामन गाविसहरु समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्र विस्तार गर्दा आग्रा, चित्लाङ र टिस्टुङ गाविसहरु पनि यसमा गाभिएका थिए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार थाहा नगरपालिकाको कुल जनसंख्या ३८ हजार ८ सय ७० छ भने यहाँ ९ हजार ७ सय ४९ घरधुरी छन् । जनतालाई सुसूचित गरी राजनीतिक चेतना जागरणको अभियान चलाउनुहुने रुपचन्द्र विष्टको स्मरणमा नामकरण भएको थाहा नगरपालिकाको हरेक क्षेत्र समाथ्र्यवान् छ । नगरभित्रको दामन भ्युटावर, आकर्षक पैदल मार्ग, ऐतिहासिक एवं पुरातात्विक धार्मिक स्थल, कृषिको पकेट क्षेत्र, आकर्षक दृष्यावलोकन क्षेत्रहरु, जैविक विविधता शीतोष्ण हावापानीका कारण आकर्षक पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको देखिन्छ ।
नगरको प्रायः सबै क्षेत्रमा उर्वरभूमि रहँदा विगतदेखि नै तरकारी उत्पादनमा अब्बल रहनु र वार्षिक झन्डै १ अर्ब बराबरको तरकारी उत्पादन गर्नुले जिल्लाको अन्य भागको तुलनामा थाहा नगरपालिकाको आर्थिक अवस्थासमेत सबल देखिन्छ । तरकारी खेतीलाई स्वस्थकर एवं व्यावसायिक बनाउन कृषिपद्धतिमा आधारित खेतीलाई प्रोत्साहन गर्दै थाहा उपत्यकालाई आर्गानिक एग्रो सिटीका रुपमा विकास गर्न सकिने अर्काे ठूलो सम्भावना छ । जिल्लाकै उत्तरी क्षेत्रको केन्द्रविन्दुको रुपमा रहेको थाहा नगर विकासको सकारात्मक सम्भावना बोकेको उपयुक्त उपत्यका हो ।
यहाँका विकासका सम्भावनामा थाहा नगरभित्र रहेको उर्वर भूमि र कृषिको पकेट क्षेत्र, छिमेकमा रहेको राजधानी काठमाडौं र नजिकको तराईका जिल्लालाई लक्षित गरी महाभारत शृङ्खलाको सबभन्दा उच्च भागमा रहेको प्रख्यात सीम भन्ज्याड क्षेत्रमा थाहा नगर उद्यानसहित पर्वतीय नगर सम्मेलन केन्द्र निर्माण गर्न सकिनेछ ।
लालीगुराँस मार्ग, सुनगाभा मार्ग र कोटथुम्कीजस्ता पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधारको विकास, प्रख्यात धार्मिक स्थलहरु ऋषेश्वर महादेव, पाण्डुकेश्वर मन्दिर, गोरखनाथ मन्दिर, बज्रबाराही मन्दिरलगायत क्षेत्रहरुमा थप पूर्वाधार र संरक्षण, संवद्र्धन, जैविक विविधता संरक्षण तथा विकास गरी अल्लो, धसिंङ्गरे, लौठसल्लाजस्ता जडीबुटी खेती प्रवद्र्धन गरी उद्योग स्थापना गर्न सकिने देखिन्छ ।
शीत भण्डारको स्थापना गरी यस क्षेत्रलाई विशेष गरी आलुको बीउ केन्द्रका रुपमा विकास गर्न सकिनेछ । पर्यटन पूर्वाधार विकाससँग सम्बन्धित शिक्षा प्रदान र रोजगारीसँग जोड््ने कार्य, सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जनका लागि छोटोे अवधिको सीपमूलक कार्यक्रम सञ्चालन, प्राकृतिक क्षेत्रीय रंगशाला स्थापनाका लागि डीपीआरसहित कार्य अगाडि बढाउने र प्याराग्लाइडिङको शुरुवात गरी पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना यहाँ छ ।
सीमित स्रोत–साधनबाट सञ्चालन भएको नगरपालिकाप्रति जनताको जनअपेक्षा बढ्नु स्वाभाविक नै हो । घोषणा भएकै दिन र सोपछिका केही वर्षमै चामत्कारिक परिवर्तन जनताले महसुस गर्न सक्दैनन् । र, यसका लागि ठूला सपना बाँड्नु पनि त्यति उपयुक्त हँुदैन । विकास प्रक्रियामा ठूला सपना देख्नुभन्दा पहिले हिजोका गाविसको कार्यपद्धतिबाट बिस्तारै परिवर्तनमुखी हँुदै विकास प्रक्रियालाई व्यवस्थित पद्धतिमा लैजानु, भएका स्रोत–साधनको अधिकतम उपयोग गर्नु, सकारात्मक भावनाले थाहा नगरको विकासको सम्भावनाहरुको खोजी गर्नुपर्छ । त्यसका लागि न्यूनतमरुपमा आधारभूत प्रक्रिया अवलम्बन गर्नु प्राथमिकता हो ।
थाहा नगर उद्योग वाणिज्य संघको १० औं वार्षिक साधारणसभामा पनि यस्ता आवाज सुनिए । सभामा व्यवसायी, उद्योगी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवालाको उपस्थिति थियो । कार्यक्रममा वक्ताहरुले संघ र स्थानीय सरकारबीच सहकार्यले दिगो विकास सम्भव हुने उल्लेख गर्दै थाहा नगरलाई व्यावसायिक केन्द्रका रुपमा स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
वक्ताहरुले थाहा नगरको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासमा उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय, सशक्त र परिणाममुखी कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । व्यवसायीहरुको हकहित संरक्षण, स्थानीय उत्पादन प्रवद्र्धन, उद्यमशीलता विकास र लगानीमैत्री वातावरण निर्माणमा संघले सशक्त पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
सभामा नगरपालिका प्रमुख विष्णु विष्टले उद्योग वाणिज्य संघसँग स्थानीय सरकारको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थाहा नगरको आर्थिक समृद्धिका लागि निजीक्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सकिने धारणा राख्नुभयो । उहाँले नगरपालिकाले व्यवसायमैत्री नीति, आवश्यक पूर्वाधार निर्माण तथा सहजीकरणमा जोड दिने बताउँदै संघसँग सहकार्य गर्दै अघि बढिने स्पष्ट पार्नुभयो ।
संघ अध्यक्ष पुरुषोत्तम ढकालले भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भन्नुभयो– ‘संस्थाको मूल लक्ष्य व्यावसायमैत्री वातावरण निर्माण गर्नु, स्थानीय उद्योग तथा व्यापार संरक्षण, संवद्र्धन र दिगो विकास गर्नु हो ।’ उहाँले संघको पहिलो प्रतिबद्धता व्यवसायमैत्री वातावरण सुदृढ बनाउने, प्रविधिमैत्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने, पर्यटन, कृषि र उद्योगको एकीकृत विकासलाई जोड दिने, स्थानीय उत्पादन र लगानी प्रवद्र्धन गर्ने तथा समावेशी उद्यमशीलतालाई प्रोत्साहन गर्ने रहेको बताउनुभयो ।
उहाँले थाहा नगरलाई सम्भावनायुक्त क्षेत्रका रुपमा विकास गर्न निजीक्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बजार व्यवस्थापन, पूर्वाधार विकास, डिजिटल प्रविधि उपयोग, युवालाई उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम तथा महिला र साना व्यवसायीलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरिने बताउनुभयो ।
संघ महासचिव जर्म श्रेष्ठले संघले उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराउँदै संघले व्यवसायीहरुका समस्या समाधान, विभिन्न सरोकारवाला निकायसँग समन्वय, सीपमूलक तालिम, बजार व्यवस्थापन, कर तथा नीतिगत विषयमा परामर्शजस्ता क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो । संघ वरिष्ठ उपाध्यक्ष शम्भुसिंह कार्कीले आगामी दिनमा संघलाई अझ सशक्त, प्रभावकारी र सदस्यमैत्री संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।











प्रतिक्रिया