२५ वर्षमा डिलाईट स्कुल, १३ जना विद्यार्थी राखेर शुरू भएकाे शैक्षिकयात्राकाे उत्सव


ललितपुर।

ललितपुर ढोलास्थित डिलाईट किन्डरगार्डेन हाईस्कुलको रजतजयन्ती भव्य रूपमा सम्पन्न ललितपुर महानगरपालिका–२३, ढोलास्थित डिलाईट किन्डरगार्डेन हाईस्कुलले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजतजयन्ती महोत्सव शनिबार विद्यालय परिसरमा भव्य रूपमा मनाएको छ। विद्यालयको इतिहासमा स्वर्णिम अध्यायको रूपमा रहेको यस समारोहमा विविध सांस्कृतिक कार्यक्रम तथा अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै कलाकार श्रेष्ठले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पठनपाठनसँगै आफूभित्र रहेको ज्ञान र प्रतिभालाई निखार्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। विद्यालय, शिक्षक र अभिभावकको कर्तव्य विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्नु नै रहेको उहाँको भनाइ थियो।

समारोहमा विद्यालयकी प्रधानाध्यापिका रश्मिरा शाक्यले विद्यालयको यात्राको स्मरण गर्दै भन्नुभयो, “२०५६ सालमा विद्यालय अध्यक्ष सुनील लामा र मेरो संयुक्त लगानीमा मात्र १३ जना विद्यार्थीबाट सुरु भएको यो विद्यालयले आज २५ वर्षको गौरवमय इतिहास पूरा गरेको छ। यो हामी सबैको सोच, संघर्ष र अथक मिहिनेतको उत्सव हो।” स्थापनाकालदेखि नै बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले विद्यार्थीको मूल्यांकन परीक्षाको अंक मात्र नभई उनीहरूको लेखन, वाचन, सिर्जना र खेलकुदलाई समेत आधार मान्दै आएका छौं।

” विद्यालयले सिकाइलाई रमाइलो बनाउन ‘कुमन गणित’ (जापानिज गणित) लगायतका नवीन विधिहरू अपनाउँदै आएको जानकारी दिँदै प्रधानाध्यापिका शाक्यले २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीको समयमा विद्यालयले समाजसेवा र राहत कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो।

विद्यालयका अध्यक्ष सुनील लामाले समसामयिक शिक्षा प्रणालीमा प्रविधिको माध्यमलाई जोड्दै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षालाई जीवन पद्धतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विद्यालयमा लामो समयदेखि योगदान पुर्याएका शिक्षक तथा कर्मचारीहरूलाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जरी शाक्यले सम्मानपत्र प्रदान गर्नुभएको थियो।

उपमेयर शाक्यले विद्यालयको प्रगतिको प्रशंसा गर्दै शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। समारोहको सांस्कृतिक भागमा वाद्यशिरोमणी संगीत घरानाको प्रस्तुति ‘श्रुतिभधुर धुन’ ले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। वरिष्ठ संगीतकार तथा गायक जुजुकाजी रञ्जित र वरिष्ठ संगीतकार मनराजा नकर्मीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। विद्यार्थीहरूले समेत मनोरम सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गर्दै सबैको मन जितेका थिए ।

लुना लुइटेल कलाकार तथा क्याप्टेन विजय लामा, वरिष्ठ संगीतकार मनराजस नकर्मी, मणिराज लवत, हिसिला महर्जन, मिस नेवाः प्रलिशा शाक्य, लोकप्रिय गायक जुजुकाजी रन्जित , योगेश्वर अमात्य, दिपक बज्राचार्य, बाबिता मानन्धर, रत्न शोभा , साज सिं र सुरजवीर बज्राचार्य लगायतकाे उपस्थिति रहेकाे कार्यक्रममा विद्यालय परिसरलाई उत्सवमय बनाउँदै विभिन्न खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, मनोरञ्जनात्मक खेल गतिविधिहरू तथा खाद्य स्टलहरू राखिएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई थप जीवन्तता र रौनक प्रदान गरेको थियो। रजतजयन्तीको यो अवसर विद्यार्थी, अभिभावक, शिक्षकका लागि स्मरणीय क्षण बनेकाे प्रतीत हुन्थ्याे।