मतदाता शिक्षा कार्यक्रम देशव्यापी रूपमा तीव्र


काठमाडौँ ।

निर्वाचनलाई बढी सहभागितामूलक बनाउने र बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोग ले देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरी मतदातालाई मतदान प्रक्रिया र मताधिकारको महत्त्वबारे जानकारी दिइँदैछ।

घरदैलोमै पुगेर नमुना मतपत्रमार्फत प्रशिक्षण दिइरहेका स्वयंसेवकको अनुगमनसमेत भइरहेको आयोगले जनाएको छ। साथै, मिथ्या सूचना र आचारसंहिता उल्लङ्घन गर्ने २९० जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरो मा उजुरी गरिएको छ। अन्य सम्बन्धित निकायमार्फत पनि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।