_प्रभावशाली नेताहरू बाहिरिने क्रम जारी
काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ । पछिल्लो तीन सातायता केन्द्र, प्रदेश र स्थानीय तहका प्रभावशाली नेताहरूले क्रमशः पार्टी परित्याग गरेका छन् ।
पार्टीको भनाइ र गराइमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उनीहरूको आरोप छ ।
रास्वपाका केन्द्रीय तहका नेता प्रणय समसेर राणाले हालै पार्टी परित्याग गर्नुभएको छ । उहाँले पार्टीको वैकल्पिक राजनीतिक प्रतिबद्धता व्यवहारमा नदेखिएको, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित भएको र आन्तरिक बहसको संस्कृति कमजोर बनेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएको छ ।
उहाँको भनाइ छ– ‘हामीले संस्थागत, पारदर्शी र उत्तरदायी राजनीति गर्ने संकल्प गरेका थियौं । तर, व्यवहारमा आलोचना सहने क्षमता र आन्तरिक लोकतान्त्रिक अभ्यास अपेक्षाअनुसार देखिएन ।’ राणाले अब स्वतन्त्र राजनीतिक र सामाजिक अभियन्ताका रूपमा काम गर्ने भने पनि नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँ पार्टीभित्र नीति निर्माण र संगठन सुदृढीकरणमा सक्रिय अनुहार मानिनुभएको थियो ।
गुप्त सेन ठकुरी सुस्ता गाउँपालिका उपसभापति, पश्चिम नवलपरासी सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले हालै पार्टी परित्याग गर्नुभएको छ । उहाँ रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाजु हुनुहुन्छ । ठकुरीले भन्नुभयो– ‘पार्टीको भनाइ र गराइमा एकरूपता छैन । हामीले खोजेको वैकल्पिक राजनीति व्यवहारमा देखिएन । त्यसैले अहिले स्वतन्त्र नागरिकका रूपमा बस्ने निर्णय गरेको हुँ ।’ उहाँका अनुसार संगठन सञ्चालनमा परामर्शभन्दा निर्देश हाबी भएको महसुस भएपछि अलग हुने निर्णय लिएको हुँ ।
दिपेन्द्र ‘दिनेश’ हुमागाईं, वागमती प्रदेश उपसभापति वागमती प्रदेश उपसभापति दिपेन्द्र हुमागाईंले फागुन ६ गते राजीनामा दिनुभएको थियो । उहाँले सदस्यता र आर्थिक व्यवस्थापनमा पारदर्शिताको अभाव, टिकट छान्नमा भेदभाव, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र पार्टी विधानको अवमानना भएको आरोप लगाउनुभयो । ‘आफ्नै भित्री विसंगति सच्याउन नसक्ने संगठनले राष्ट्र परिवर्तनको दाबी गर्नु विडम्बना हो’ –उहाँले राजीनामामा उल्लेख गर्नुभएको छ । सूर्यबहादुर गैरे प्युठानका नगर सदस्य सूर्यबहादुर गैरेले रास्वपा छाडेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गर्नुभएको छ ।
गैरेले पार्टी स्थापनाको मूल उदेश्यभन्दा व्यवहार फरक भएको आरोप लगाउँदै भन्नुभयो– ‘यो पार्टी देश बनाउन होइन, खरानी बनाउने बाटोमा गयो ।’ उहाँले स्थानीय नेतृत्वको सुझाव बेवास्ता गरिएको दाबी गर्नुभयो ।
यसैगरी काठमाडौंका रास्वपा नेता प्रणय शम्शेर राणाले पनि पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
ममता शर्मा मधेस प्रदेश संस्थापक सभापति, मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि फागुन ६ गते पार्टी परित्याग गर्नुभएको छ । उहाँले सुशासन र पारदर्शिताको वाचा पूरा नभएको आरोप लगाउनुभयो । उहाँले हामीले लोकतान्त्रिक अभ्यासका लागि पार्टी बनायौं, तर निर्णय सीमित व्यक्तिमा केन्द्रित भयो ।
जीतबहादुर हरिजन, बर्दघाटका नेता जीतबहादुर हरिजनले फागुन ९ गते पार्टी छोड्नुभएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयो– ‘नेतृत्वले सहयोगी कार्यकर्ताको योगदानको कदर गरेन ।’ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला)ले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
पार्टीमा योग्यता र क्षमताभन्दा पनि चाप्लुसीवाद मौलाएको र पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित हुने गरेकाले रास्वपामा रहिरहन नसकिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार पार्टीभित्र वैचारिक बहसको ठाउँ खुम्चिएको र नयाँ पुस्तालाई अवसर दिनुभन्दा सीमित घेरामा निर्णय हुने प्रवृत्ति बढेको छ ।
संस्थापकका रूपमा हामीले परिकल्पना गरेको संरचना व्यवहारमा देखिएन, उहाँले बताउनुभयो । उहाँले अब सामाजिक अभियन्ताका रूपमा काम गर्ने संकेत गर्नुभएको छ ।
पछिल्लो तीन सातामा मात्रै प्रभावशाली पदमा रहेका कम्तीमा आधा दर्जन नेता बाहिरिएका छन् भने जिल्ला र नगर तहमा दर्जनौँ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ राजनीतिक शक्तिमा प्रारम्भिक उत्साहपछि संगठन व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । तर, आलोचना व्यवस्थापन र संवाद प्रक्रियामा कमजोरी देखिए विभाजन तीव्र हुन सक्छ ।
देशभर नयाँ र पुराना दलबीच प्रतिस्पर्धा चर्किएको भनिए पनि व्यवहारमा पुराना दलको संगठनात्मक जरा बलियो देखिन्छ । नयाँ दलहरू भने आन्तरिक व्यवस्थापनमै व्यस्त हुँदा अपेक्षित प्रतिस्पर्धा कमजोर देखिएको विश्लेषण छ ।
रास्वपाले भने संगठन सुदृढीकरणको प्रक्रिया जारी रहेको र असन्तुष्टिसँग संवाद भइरहेको दाबी गरेको छ । तर, पछिल्लो तीन हप्ताको घटनाक्रमले पार्टीभित्र गहिरिँदै गएको असन्तुष्टिको संकेत दिएको छ । आगामी निर्वाचनमा यसले कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा बहसको विषय बनेको छ ।











प्रतिक्रिया