काठमाडौं।
काठमाडौंस्थित वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा २०८२ फागुन ९ गते शनिबार साहित्यकार प्रा.डा.यादवप्रकाश लामिछानेका चार कृति तथा हुमकला पाण्डेद्वारा लिखित एक अनुसन्धानमूलक कृतिको लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ।
लोकार्पित कृतिहरूमा ‘संयोग’ कथासङ्ग्रह, ‘यात्रा रहेछ जिन्दगी’ नियात्रासङ्ग्रह, ‘स्मृतिका पानाहरू’ संस्मरणसङ्ग्रह, ‘फरक सृष्टि फरक दृष्टि’ समालोचनासङ्ग्रह तथा ‘नेपाली भाषाशिक्षणमा प्रा.डा.यादवप्रकाश लामिछानेको योगदान’ रहेका छन्। पाँचै कृति विद्यार्थी पुस्तक भण्डारद्वारा प्रकाशित हुन्।
समारोहको सभापतित्व विद्यार्थी पुस्तक भण्डारका प्रबन्ध सञ्चालक शान्त गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रा.डा.दयाराम श्रेष्ठ ‘सम्भव’ र विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डा. हरिप्रसाद सिलवालले गर्नुभएको थियो।
कार्यक्रममा समीक्षकहरूले कृतिहरूमाथि आ–आफ्नो धारणा राख्दै प्रा.डा. लामिछानेको साहित्यिक, प्राज्ञिक तथा भाषाशिक्षण क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताएका थिए। समालोचकहरूले उहाँका कृतिमा सामाजिक यथार्थ, प्रगतिवादी चेत, नारी विमर्श, डायस्पोरिक अनुभव तथा समालोचनात्मक दृष्टिकोण सशक्त रूपमा प्रस्तुत भएको उल्लेख गरे।
अनुसन्धाता हुमकला पाण्डेले लामिछानेको शिक्षण र भाषाशिक्षण क्षेत्रमा रहेको योगदानलाई स्थापित गर्ने उद्देश्यले अनुसन्धानमूलक कृति तयार गरेको बताइन्। प्रमुख अतिथि श्रेष्ठले लेखकद्वयलाई बधाई दिँदै कृतिहरूको अध्ययन र समीक्षा गर्ने जिम्मेवारी पाठक वर्गको भएको धारणा व्यक्त गर्नुभयो।
समारोहमा साहित्य, शिक्षा र प्रशासन क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।











प्रतिक्रिया