गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी


काठमाडौँ ।

गृह मन्त्रालयमा मुलुकको समसामयिक अवस्था, समग्र शान्ति–सुरक्षा र आगामी निर्वाचनको तयारी सम्बन्धी विषयमा केन्द्रित रही केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ।

बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा पछिल्ला दिनमा देखिएको जातीय तथा धार्मिक संवेदनशीलता, सामाजिक सद्भावमा पर्न सक्ने प्रभाव, र निर्वाचनसँग सम्बन्धित सम्भावित सुरक्षा चुनौतीका विषयमा गहन छलफल भइरहेको बताइएको छ। सुरक्षा निकायहरूले क्षेत्रगत अवस्थाको विश्लेषण प्रस्तुत गर्दै संवेदनशील जिल्लामा अतिरिक्त सुरक्षा व्यवस्था, निगरानी संयन्त्र सुदृढीकरण तथा आकस्मिक परिस्थिति व्यवस्थापनका लागि तयारी अवस्थाबारे जानकारी गराएका छन्।

मन्त्रालयका अनुसार बैठकमा उठेका विषयहरूमा आवश्यक निर्णय तथा रणनीतिक निर्देशन जारी गरिनेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा रणनीति थप सुदृढ गर्ने तयारी गरिएको जनाइएको छ।