काठमाडौँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको बताउँदै मतदातालाई फागुन २१ गते निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आव्हान गर्नुभएको छ। बिहीबार उहाँकै अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले चुस्त, भरपर्दो र समन्वयात्मक सुरक्षा व्यवस्थामै निर्वाचन सम्पन्न गरिने स्पष्ट पार्नुभयो।
उहाँले तीन वटै सुरक्षा अङ्ग, प्रदेश तथा जिल्ला सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय कायम गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो। बैठकमा तीन वटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले हालसम्मको सुरक्षा तयारीबारे जानकारी गराएका थिए। उनीहरूले जिल्लागत सुरक्षा रणनीति क्रमशः कार्यान्वयनमा लगिएको र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी आवश्यक तयारी अगाडि बढाइएको बताएका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन, संवेदनशील क्षेत्रको व्यवस्थापन, मतदान केन्द्र सुरक्षा, सुरक्षाकर्मी परिचालन योजना तथा आकस्मिक अवस्थाका लागि वैकल्पिक रणनीतिबारे विस्तृत छलफल भएको थियो। ‘जुम याप’ मार्फत सञ्चालन गरिएको उक्त बैठकमा केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सातै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी सहभागी थिए।
प्रदेश प्रमुख सचिव तथा प्रजिअ संयोजक रहने जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले आ–आफ्नो प्रदेश र जिल्लाको सुरक्षा तयारीबारे प्रस्तुतीकरणसमेत गरेका थिए। गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै मतदाताको सक्रिय सहभागिताले मात्रै लोकतन्त्र सुदृढ हुने बताउनुभयो।











प्रतिक्रिया