एमालेको आरोप– निर्वाचन वातावरण सन्त्रासमय, सरकार र रास्वपामाथि प्रश्न


काठमाडौं ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। प्रचार विभाग प्रमुख मिनबहादुर शाहीले सरकारले भरपर्दो शान्ति–सुरक्षा व्यवस्था गर्न नसकेको आरोप लगाए।

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पार्टी नेतृत्व र चुनाव चिन्हमाथि प्रहार भइरहेको दाबी गर्दै निर्वाचन भाँड्ने प्रयास भइरहेको आरोप लगाएको छ। विभिन्न जिल्लामा उम्मेदवार र नेतामाथि तोडफोड तथा अभद्र व्यवहार भएको पनि एमालेको भनाइ छ।

निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा एमालेले निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठाएको छ। साथै, उम्मेदवारहरूको सुरक्षा सुनिश्चित गर्न र मतदातालाई निर्भीक वातावरणमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

एमालेले फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिबीचको जनमत संग्रह’ का रूपमा व्याख्या गर्दै बहुमतसहित सरकार गठन गर्ने दाबी समेत गरेको छ।