मुगु ।
छायाँनाथ रारा नगरपालिकाभित्र एउटा यस्तो गाउँ छ, जहाँ चुनावका बेला नेताहरू जस्तोसुकै कठिनाइ पार गरेर पनि पुग्छन्, तर चुनाव सकिएसँगै उनीहरू फर्केर नआउने स्थानीयको वर्षौं देखिको गुनासो छ ।
छायाँनाथ रारा नगरपालिका–१४ स्थित सुम्ली गाउँमा चुनावका समयमा विभिन्न आश्वासन बाँड्दै भोट माग्न आउने राजनीतिक दलका नेताहरू चुनावपछि गाउँको अवस्था बुझ्नसमेत नफर्किने स्थानीयको भनाइ छ ।
नगरपालिका भित्रकै बस्ती भए पनि सुम्ली गाउँको विकासको अवस्था अत्यन्त कमजोर छ । यहाँ ५६ घरधुरी बसोबास गर्दै आएका छन् । गाउँमा अहिले पनि एउटा मात्रै सार्वजनिक धारा छ, विद्युत् सेवा पुगेको छैन र आवतजावतका लागि सहज सडक सुविधासमेत उपलब्ध छैन । सदरमुकाम पुग्न आधा घण्टा पैदल हिँडेर सोरु गाउँपालिकाको सडक प्रयोग गर्नुपर्छ भने आफ्नै वडा कार्यालय पुग्न दुईदेखि तीन घण्टा उकालो–ओरालो बाटो हिँड्नुपर्ने बाध्यता छ
चुनावका बेला गाउँमा पुग्ने नेताहरूले समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसको कार्यान्वयन कुनै पनि दलका नेताबाट नभएको स्थानीय मक्कबहादुर भण्डारी बताउँछन् ।
छायाँनाथ रारा नगरपालिका–१४ मा ८७ वटा बस्ती छन् । नगरपालिकाभित्रका वडा नम्बर ९ को मुर्मा र वडा नं। १४ को सुम्ली गाउँमा विद्युत् र सडक पुगेको छैन । अन्य ४÷५ बस्तीमा सडक पुगेको भए पनि विद्युत् पुगेको छैन । अन्य सबै बस्तीमा सडक र विद्युत् सेवा पुगिसकेको छ । सदरमुकामबाट २ देखि ३ घण्टामा पुग्न सकिने सुम्ली गाउँ भने अझै आधारभूत सेवाबाट वञ्चित छ । स्थानीय तेज बहादुर भण्डारी भन्छन्, ‘सबै नेताहरूले समस्या देखेर गएका हुन्छन् । भोट माग्न आउँछन् तर अहिलेसम्म समस्या समाधान कसैले गरेनन् ।’
सदरमुकाम गमगढीबाट २ देखि ३ घण्टा पैदल हिँडेर पुगिने यो गाउँमा सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमसमेत पुग्न सकेका छैनन् । सडक सञ्जाल नजोडिँदा यहाँ उत्पादन हुने मार्सी धान, गहुँ, सिमी, केरा तथा अन्य तरकारी र फलफूलले बजार पाउन सकेको छैन ।
नगरपालिकाले सडक सञ्जाल जोड्न बेलिब्रिज निर्माण गर्ने योजना अघि सारे पनि काम कहिले सम्पन्न हुन्छ भन्ने जानकारी स्थानीयसँग छैन । विद्युत् सेवा नपुग्दा यहाँका बासिन्दा अझै पनि दियालो बालेर रात कटाउन बाध्य छन् । खानेपानीको अभावका कारण सरसफाइका लागि खोला र बगरसम्म पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।











प्रतिक्रिया