झापामा सुरक्षाकर्मीसहित १६ हजार जनशक्ति परिचालन


झापा ।

भद्रपुर(ने.स)झापामा ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ हजार ९३० जना कर्मचारी, २ हजार ४१५ जना स्वयंसेवक र निर्वाचन अधिकृतको कार्यालयबाट ४५ जना खटिने छन् । जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले त्यसबाहेक जिल्ला निर्वाचन कार्यालयबाट केही कर्मचारी खटिने जानकारी दिनुभयो ।

झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी रहने छन् । एक जना मतदान अधिकृत , एक जना सहायक मतदान अधिकृत , तीनजना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहने मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । दमक नगरपालिका, झापा कारागार र कर्मचारी मिलन केन्द्र भद्रपुरमा अस्थायी मतदान केन्द्र रहने उहाँले बताउनुभयो ।

अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित तीनजनाका दरले खटाइने जनाइएको छ ।

जिल्लामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि १३१ वटा वडामा १३१ जना मतदाता शिक्षा स्वयंसेवक र १५ जना मतदाता शिक्षा अनुगमनकर्ता खटाइएको छ ।
निर्वाचनका सम्पन्न गराउन जनपद प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना र निर्वाचन प्रहरी गरी लगभग ९ हजार सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।